सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • साग र गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

साग र गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

 |  शुक्रबार, मंसिर १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १५, २०८०

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीस्थित लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ। 

National life

उक्त क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजार क्षेत्रमा सहज रुपमा बिक्री हुँदै आएपछि यहाँका किसान खुसी भएका छन्। किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन्। 

समुन्द्र सतहदेखि करिब २ हजार उचाइमा रहेको यस स्थानमा रैथाने ‘अर्गानिक’ रायो साग खेती गरिएको हो। उक्त वडाका करिब २० घरधुरीले करिब ३० रोपनी क्षेत्रफलमा साग खेती गरेको स्थानीय किसान आशिक गुरुङले जानकारी दिए। सागको प्रति मुठा ५० रुपैयाँ र गुन्द्रुकको प्रति मुठा १०० रुपैयाँमा बिक्री गर्ने गरिएको छ। उक्त मूल्यमा पाउँदा उपभोक्ताले खुसी भएर लैजाने गरेका छन्। 

दैनिक दुई/तीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरु बताउँछन्। गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको स्थानीय किसान एवं वडा सदस्यसमेत रहेका लक्ष्मण गुरुङले बताए।

आफूले यसवर्ष ५ रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उनले जानकारी दिए। सुरुमा आफ्नो परिवारको लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन्। 

Laxmi sunrise bank
kumari

करिब १५ दिनको अवधिमा १ लाख बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ। सुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रुपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताए।

किसानले उत्पादन गरेका बस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्‍याउन सहजीकरण गर्दै आएको छ। किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेको आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिए।

गाउँपालिकाले किसानलाई बीउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा पालिकाले जिम्मा लिने प्रबन्ध मिलाइएको छ। चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले गुन्द्रुकको पनि उत्तिकै माग आउन थालेको छ। माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ। यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन्। 

स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरुप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

प्रकाशित: Dec 01, 2023| 05:21 शुक्रबार, मंसिर १५, २०८०
प्रतिक्रिया दिनुहोस्