आइतबार, मंसिर २८, २०८२

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुंगामा पर्यटकको आगमन बढ्यो

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

बेनी- म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो।

National life

बेनी नगरपालिका-३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुंगा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ।

भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुंगाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताए। 

उनका अनुसार, बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुंगा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायतका पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चामा आएको हो।

समुद्री सतहदेखि दुई हजार सातसय मिटर उचाइमा रहेको बेलढुंगाबाट देखिने सूर्योदय, दर्जन बढी हिमाल र ग्रामीणबस्ती जीवनशैली र भू-बनोटको अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन उत्साहजनक रहेको भकिम्लीका स्थानीय पृथ्वीबहादुर पुनले बताए। यहाँबाट देखिने चुरेन, गुर्जा, धौलागिरि, मानामाथि, नीलगिरि साउथ, नीलगिरी नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छ्रे, गंगापूर्ण, लमजुङ हिमाल, मनास्लुलगायतका हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ।

Laxmi sunrise bank
kumari

बेलढुंगामा आउने पर्यटकलाई लक्षित गरेर बागलुङको ओखलेमा होमस्टे सञ्चालनमा रहेको छ भने भकिम्लीको मुसुङ र भुकभुकेमा समेत होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ। अहिले म्याग्दीकोे भकिम्ली र बागलुङको ओखले हुँदै दैनिकरुपमा सयौँ जना बेलढुंगाको भ्रमणमा पुग्ने गरेको बेनी नगरपालिका-३ का वडाध्यक्ष पदमबहादुर पुनले बताए। उनले भकिम्लीको शिरमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र बेलढुंगाको एकीकृतरुपमा विकास र प्रचारप्रसार र प्रवर्द्धनमा जुटेको बताए। 

'पूर्वाधारले पर्यटक तानेको छ, यहाँ आएपछि पर्यटक मोहित बनेर फर्कने गरेका छन्, अब पर्यटकलाई यहाँ आएपछि खाना र बसोबासको सहज व्यवस्थापन मिलाउनेतर्फ हाम्रो ध्यान गएको छ, सडकलाई स्तरीकरण गर्ने र होमस्टे सञ्चालन गर्ने योजनालाई हामीले प्राथमिकतामा राखेका छौँ', उनले भने।

हिमाल अगाडि पहाडको थुम्कोमा रहेको एक सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँकारुपमा परिचित छ। समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रम प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको छ। यस क्षेत्रमा पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोगमा पदमार्ग, घेराबार, आश्रमस्थल मर्मत, भान्साघर निर्माण, प्रवेशद्वार निर्माणले चिटिक्क देखिएको छ।

आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट संकलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको छ। रासस

प्रकाशित: Nov 29, 2023| 20:21 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्