काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गर्न साउद यही मंसिर २३ मा कतार जान लागेका हुन्।
कतार बसाइका क्रममा उनी दोहा फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ।
यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग काठमाडौंमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए। त्यसअघि मंसिर ७ गते साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।
परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिनका बुवाआमासँग पनि भेट गरेका छन्।
कतारको मध्यस्थतामा अहिले इजरायल र हमासबीच युद्धविराम भएको छ। बुधबार युद्धविराम छैटौं दिनमा प्रवेश गरेको छ।
प्रारम्भिक चार दिने युद्धविराम दुई दिन लम्ब्याइएपछि १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ। यता इजरायलले भने ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।
मध्यस्थकर्ता कतारले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ। 'अहिले हाम्रो मुख्य ध्यान र आशा एउटा स्थायी युद्धविरामसम्म पुग्ने हो, जसले थप वार्ता हुनेछ र अन्ततः यो युद्धको अन्त्य गर्नेछ,' कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले भनेका छन्।
मुक्त गरिएका इजरायली बन्धकमा १७ वर्षीया मिया लिम्बर्गसहित सबै महिला छन्। लिम्बर्ग आफ्नी आमा र काकीसँग इजरायल फर्केकी थिइन्। तीनै जनालाई किबुत्ज निर यित्ज्याकबाट अपहरण गरिएको थियो। स्थानीय मिडियाका अनुसार बुधबार इजरायल सरकारलाई रिहा हुने नयाँ बन्धकको सूची प्राप्त भएको छ। यद्यपि यसको कुनै आधिकारिक पुष्टि भएको छैन। सम्झौताको सर्तअन्तर्गत अहिलेसम्म ६० इजरायली बन्धकलाई गाजाबाट मुक्त गराइएको छ। सम्झौताको दायराभन्दा बाहिर रहेर एक रुसी–इजरायल, २० थाई र एक फिलिपिनोलाई मुक्त गरिएको छ।
बदलामा १८० प्यालेस्टिनी महिला र नाबालिग बन्दीलाई रिहा गरिएको छ। रिहा हुनेमा १४ वर्षीय अहमद सलाइमा पनि थिए। उनी पूर्वी जेरुसेलममा आफ्नो घर फर्किएका थिए र आफ्ना आफन्तहरूसँग अँगालो हालेका थिए। 'जेलमा रहँदा अहमद सबैभन्दा कम उमेरका प्यालेस्टिनी बन्दी भए पनि हामीले उनलाई भेट्न सकेनौं,' उनका बुबा नायेफले भने।
इजरायली अधिकारीहरूका अनुसार युद्धविराम सम्झौताले अक्टोबर ७ मा हमासको हमलाबाट शुरू भएको युद्धलाई अस्थायी रूपमा रोकेको छ। उक्त हमलामा इजरायलमा अधिकांश सर्वसाधारणसहित एक हजार २०० मानिस मारिएका थिए। इजरायलले जवाफमा गाजामा गरेको हवाई र स्थल कारबाहीमा करिब १५ हजार मानिसको मृत्यु भएको हमासका अधिकारीले बताएका छन्।
हमासले अक्टोबर ७ मा बन्धक बनाएर लगेकामा विपिन जोशी पनि छन्। उनी कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे अहिलेसम्म कुनै यकिन जानकारी प्राप्त भएको छैन।