बिहीबार, असार २५, २०८३

गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

सङ्खुवासभा- सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ।

जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए।

गर्भवती महिलाको गर्भमै शिशु मृत भेटिएपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो। गर्भवती सार्कीलाई मङ्गलबार दिउँसो थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको अस्पताल मेडिकल अधिकृत श्रीवालले बताए।

गर्भवती सार्कीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। गर्भवती सार्कीको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धार काठमाडौँ पठाइएको हो। गर्भवती सार्कीको अत्यधिक रक्तश्राव र उच्च रक्तचापसमेत देखिएको मेडिकल अधिकृत श्रीवालले बताए।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो बेथा लाग्दा पनि शिशु जन्माउन कठिनाइ भएको, गर्भमा नै शिशुको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।

सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म एक दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ।

प्रकाशित: Nov 28, 2023| 20:17 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्