काठमाडौं- पूर्वगृहमन्त्री बालकृष्ण खाण र एमाले नेता टोपबहादुर रायमाझी संलग्न रहेको भनिएको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरवलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ। उनीहरूको बहस सकिएसँगै अब सरकारी वकिलले बहस गर्ने छन्। बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबार अभियुक्तका वकिलले जवाफी बहस गर्ने छन्। उच्च अदालत पाटनका श्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार शुक्रबार मात्र फैसला आउने सम्भावना छ।
सोमबारदेखि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका वकिलहरूले प्रतिरक्षा बहस गरेका थिए। उनीहरूको बहस मंगलबारको खाजा ब्रेकअघि सकिएको थियो। खाजा ब्रेकपछि अभिभयुक्तहरू रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस भएको थियो। यससँगै प्रतिवादीहरूका वकिलहरूको बहस टुंगिएको हो।
अब भोलिदेखि सरकारी वकिलका तर्फबाट बहस हुने छ। सरकारी वकिलको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्ने छन्। त्यसपछि भने पुनरावेदन निवेदनमा उच्च अदालतको फैसला आउने छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी वकिलसमेत संलग्न भएको भन्दै मुद्दा चलेपछि गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तालई पुर्पक्षका लागि धुनामा पठाउन आदेश गरेको थियो। थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन्।