सोमबार, मंसिर २९, २०८२

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

भोजपुर- भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ। रामप्रसादराई-८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो।

National life

विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ। कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए। यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ।

'विद्युत् बल्न थालेपछि दैनिक जीवन सहज बनेको छ', उनले भने, 'पारि भोजपुर सदरमुकाम झलमल्ल हुँदा हाम्रो ठाउँ अँध्यारो हुन्थ्यो। वडाको पहलमा हाम्रो ठाउँमा विद्युत् बल्यो धेरै खुसी लागेको छ।'

विद्युतले जीवन गुजारा गर्न सहजता थपिएको स्थानीयवासी रुपमान श्रेष्ठले बताए। विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै सूचनाको पहुँचमा जोडिन सहज भएको उनको भनाइ छ। विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै आफ्नै घरमा बसेर देश-विदेशको जानकारी लिने गरेको उनले बताए।

'लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ', उनले भने, 'विद्युत् विस्तारपछि इन्टरनेटसँगै रेडियो, टिभीको माध्यमबाट देश-विदेशका सूचना थाहा पाउन सहज भएको छ। वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुसी छौँ।'

Laxmi sunrise bank
kumari

भौगोलिकरूपमा विकट रहेका यी स्थानमा लामो समयको मेहनतपछि विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए। वडाको कुनै पनि ठाउँमा विद्युत् नपुगेको अवस्थामा वडा केन्द्रसम्म विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ। 'हाम्रो वडा भौगोलिकरूपमा निकै विकट छ', वडाध्यक्ष राईले भने, 'विद्युत् नहुँदा स्थानीयलाई धेरै नै समस्या छ। अहिले हामीले पहिलो प्राथमिकतामा राखेर विद्युत्को काम अघि बढाएका छौँ। अथक प्रयासपछि दुई स्थानका स्थानीय अहिले विद्युतको पहुँचमा जोडिएका छन्।'

सीमित स्रोतसाधनको अधिकतम् उपयोग गर्दै जनतालाई दिएको बचन पूरा गरिरहेको वडाध्यक्ष राईको भनाइ छ। यहाँका सबै घरपरिवारमा आगामी वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्य रहेको उनले बताए। विद्युत् विस्तारका लागि वडाले १२ लाख रूपैयाँ बजेट विनियोजन गरेर तार खरिद गर्ने तयारी गरेको वडाध्यक्ष राईले बताए।

'जनतालाई दिएको बचनअनुसारको काम अघि बढाएको छु', उनले भने, 'कतिपय काम वडाको एक्लो प्रयासले मात्र गर्न पनि सम्भव छैन। बजेट सीमित छ। तर पनि वडाको बजेटसँगै स्थानीयसँग आफै श्रमदानमा जोडिएर हालसम्म ४० प्रतिशत बढी जनतालाई विद्युत् बाल्ने वातावरण तयार गरेका छौँ। आगामी वर्षभित्र सबै क्षेत्रमा विद्युत् पुर्‍याउने मेरो लक्ष्य छ।'

अहिले बाक्चखा र भञ्याङमा विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष राईको भनाइ छ। आगामी माघसम्ममा यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिसक्ने अध्यक्ष राईले जानकारी दिए। यो वडामा जम्मा तीन सय ५६ घरपरिवार रहेका छन्।

वडा कार्यालयले सडक, कृषि खानेपानी, रोजगारीको क्षेत्रमा  पनि प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष राईले बताए। किसानलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक तालिमसँगै पाँच सय दन्तेओखरको बिरुवा वितरण गरेको उनको भनाइ छ।

पन्ध्र जनालाई हाउसवायरिङ र २५ महिलालाई सिलाइकटाइसम्बन्धी तालिम दिइएको छ। किसानलाई व्यावसायिक तरकारी खेती तथा बाख्रापालनसम्बन्धी तालिम दिएको वडा कार्यालयले जनाएको छ। तालिम पाएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको उनको भनाइ छ। स्थानीयको आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ। 

प्रकाशित: Nov 28, 2023| 20:21 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्