मंगलबार, पुस १, २०८२

भूकम्प प्रभावित क्षेत्रमा सिके राउतले बाँडे न्याना कपडा

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

पहाडमा जाडो बढे, तराईंले सेक्‍नुपर्छ,
तराईमा आँधी आए पहाडले छेक्नुपर्छ'

National life

दिनेश अधिकारीले कोरेका शब्दहरुले भन्‍ने गीतको मर्मलाई सार्थक बनाउन राष्ट्रिय जनमत पार्टी पहाडमा बढेको जाडोमा न्यानो वितरण गर्न भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्‍चिम पुगेको छ। 

जाजरकोट र रुकुमपश्‍चिमका लागि १७ कात्तिकको रात एक काल बनेर आयो र १५३ जनालाई लग्‍यो। २५० भन्दा बढी घाइते भए भने हजारौंको घरबारविहीन बने। भूकम्पप्रभावितहरु अहिले कठ्याङ्ग्रिदो जाडोमा बस्‍न बाध्य छन्। सरकार र केही दातृ निकायले दिएको पालमुनि शित छलिरहेका छन्। तर, घरबारविहीन बनेपछि उनीहरुका लुगाफाटो नहुँदा अझै सिरोठोले उनीहरुको मन र तनलाई न्यानो बनाउन सकेको छैन। 

सरकार र दातृ निकाय भूकम्प प्रभावितहरुको घाउमा मलम लगाउन लागिरहेकै छन्। तर, मधेसवादी दलको ट्याग भिररहेका राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउत भने पार्टीका अन्य नेतासहित केही राहत र न्यानो सामग्री बोकेर जाजरकोट पुगेका हुन्। 

विगतमा उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतहरुले मधेसलाई बद्‌नाम गराएको भन्दै आलोचना भइरहेको समयमा मधेस प्रदेशमा मात्र नभए देशभर नै संगठन विस्तार गर्ने अभियानमा सिके राउत लागेका छन्। यो सिंगो देशका लागि आफ्नो पार्टीले काम गर्ने बताउँदै आएका राउतले यसलाई प्रमाणितसमेत गरेका छन्। 

Laxmi sunrise bank
kumari

पूर्वाधार विकास समितिका सदस्य समेत रहेका राउत पार्टी मंसिर १० गते काठमाडौंबाट पार्टी प्रवक्ता डा. सरदसिंह यादव र पार्टी नेतृ सरिताश्री ज्ञवालीसहित सुर्खेत हुँदै जाजरकोट पुगे। अध्यक्ष राउतले धेरै जाँदा भिड हुने बरु अन्यको पनि जाने-आउने खर्चले पीडितका लागि थोरै भए पनि राहत सामग्री बढ्ने भन्दै सानो टिम गएको नेतृ ज्ञवालीले जानकारी दिइन्। 

भूकम्प प्रभावितलाई आफूले लगेको तनलाई न्यानो बनाउने लुगा-कपडा र कम्बल त वितरण गरे नै, त्यो भन्दा पनि मनको न्यानोसमेत बाँडेर अध्यक्ष राउत फर्किएका छन्। उनले त्यस भेगका जनताको समस्या तथा तत्काल उद्धार र पुनर्निर्माणका कामलाई कसरी प्रभावकारी बनाउने भन्‍नेबारे स्थलगत निरीक्षण गरेको नेतृ ज्ञवालीले बताएकी छन्। उनले थपिन्, 'जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्‍न दलका प्रतिनिधिहरु, सुरक्षा निकायका अधिकारीहरु, प्रशासनिक व्यक्तिहरु, पत्रकारहरुसँग पनि अध्यक्षज्यूले छलफल गर्नुभयो।' 

त्यहाँका सम्बन्धित निकायहरुसँग छलफल गरी स्थानीयहरुलाई उनीहरुको घर पुनर्निर्माणको काममा तीव्रता दिन सरकारलाई दबाब दिने आश्वस्थ पार्दै मनको न्यानोसमेत अध्यक्ष राउतले वितरण गरेको नेतृ ज्ञवालीको भनाइ छ। उनले थपिन्, 'अब अध्यक्षज्यूले समितिमार्फत र सरकार प्रमुखलाई भेटेर ध्यानाकर्षण गराउनुन हुनेछ भने पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।' 
 

प्रकाशित: Nov 28, 2023| 17:26 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्