सोमबार, मंसिर २९, २०८२

घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

जुम्ला- जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेरमात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ।

National life

गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्यरुपमा नक्सा पास गरेको प्रमुख प्रशासकीय अधिकृत भिमा कँडेलले जानकारी दिइन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन। कार्यकारी भएर आएदेखि नक्सा पास तथा निर्माण इजाजतका लागि कार्यपालिकाबाट निर्णय गरी कार्यविधि पास गरी जग्गाको नक्सा पासको काम सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत कँडेलको भनाइ छ।

पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि अनिवार्य रुपमा गाउँपालिकाबाट नक्सा पास गराएरमात्र निर्माण गर्न नौवटै वडालाई परिपत्र गरिएको छ। नक्सा पास नगरी निर्माण गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत कँडेलले जानकारी दिइन्।

गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए। नक्सा पास गरिसकेपछि निर्माण गर्दा पालना गर्नुपर्ने सर्तहरु लागु गरिएको छ। नक्सा पास गरेसँगै निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्रदान गरिने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ।

Laxmi sunrise bank
kumari

नक्सा पास गर्दा विभिन्न कागजात आवश्यक पर्छ। नागरिकताको प्रतिलिपि-एकप्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि एकप्रति, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि एकप्रति, ट्रस नक्सा एकप्रतिलगायत कागजात नक्सा पास गर्ने स्थानीयवासीले ल्याउनुपर्ने तिला गाउँपालिकाको नक्सा शाखाले जनाएको छ। 

प्रकाशित: Nov 28, 2023| 20:41 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्