काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन यूएई जाने भएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन्। कोप–२८ को २८औँ सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुनेछ।
प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन्। डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा जनाइएको छ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन्। उनी यूएईले आयोजना गर्ने जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड डिसेम्बर २ मा सम्मेलनको साइडलाइनमा आयोजना गरिने ‘कल अफ द माउन्टेनः हु सेभ्स अस फ्रम दी क्लाइमेट क्राइसीस ?’ कार्यक्रममा होस्टको रूपमा रहनेछन्। कार्यक्रममा जलवायु परिवर्तनका सम्बन्धमा नेपालले आवाज उठाउनेछ।
सम्मेलनको साइडलमा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण, नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन्। प्रधानमन्त्री डिसेम्बर ३ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।