भारत सरकारको आर्थिक सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित श्री गौतम बुद्ध माध्यमिक विद्यालयमा बिद्यालय भवन र प्रयोगशाला निर्माण भएको छ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड ३२ लाख ३ हजार रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको विद्यालयको भवन तथा प्रयोगशाला भवनको आज भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति, कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका छन्।।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, तीन तल्ले प्रयोगशाला भवनको निर्माणमा र फर्निचर एवम् प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो। जिल्ला समन्वय समिति, कपिलवस्तुमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको दूतावासले जनाएको छ।
भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए। साथैउनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए। उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
श्री गौतम बुद्ध माध्यमिक विद्यालय सन् १९७८ मा सामुदायिक शैक्षिक संस्थाको रुपमा स्थापना भएको हो। राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयले शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ। यस विद्यालयमा प्ले ग्रुपदेखि प्लस टु लेभलसम्मको पढाई हुन्छ। हाल यस विद्यालयको विद्यार्थी क्षमता १२०० भन्दा बढी रहेको छ र विद्यालयमा करिब ५२ प्रतिशत छात्रा रहेका छन्।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यी मध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् जसमा ५ वटा परियोजना कपिलवस्तुमा छन्। यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६० वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा १८ वटा एम्बुलेन्स र ४ वटा स्कुल बस कपिलवस्तु जिल्लालाई उपलब्ध गराइएको दूतावासद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको बिज्ञप्तीमा उल्लेख छ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो।