काठमाडौं- ७ अक्टोबरदेखि सुरु भएको इजराय-हमासबीच युद्ध केही समयका लागि रोकिएको छ। हमास समूहले इजरायलबाट नियन्त्रणमा लिएका बन्धकहरुलाई रिहा गरिएको छ। इजरायली सीमा क्षेत्रमा आक्रमणमा क्रममा अपहरण गरिएकामध्ये ४१ जनालाई रिहा गरिएको बीबीसीले जनाएको छ।
इजरायल र हमास बीचको युद्धविराम गर्ने सम्झौताको एक भागको रूपमा लगभग २६ जनालाई रिहा गरिएको छ भने हमास र इजिप्ट सरकारबीचको भएको छुट्टै सम्झौताको एक भागको रूपमा १५ जनालाई रिहा गरिएको हो। जसमा १४ थाई बन्धक र एक फिलिपिनो रिहा गरिएको हो।
इजरायल-हमासको अस्थायी युद्धविरामको सर्तहरू अन्तर्गत, नोभेम्बर २४ देखि सुरु हुने गरी युद्धमा चार दिनको बिराम गरिएको हो। जस अन्तर्गत ५० बन्धकहरूलाई रिहा गरिनेछ।
हमासले युद्धविराम सम्झौता अन्तर्गत इजरायली जेलबाट १५० प्यालेस्टिनी महिला र किशोरकिशोरीहरूलाई रिहा गरिने र मानवीय सहायता, स्वास्थ्य सामग्री र इन्धनका सयौं लरी गाजामा लैजान दिइने बताएको छ।
रिहा गरिएका बन्धकहरू को-को हुन्?
इजरायलको किबुट्ज नीर ओजमाकी ७८ वर्षीया मार्गलित मोजेस।
इजरायलकी नीर ओजकी ७२ वर्षीया अदिना मोसे।
इजरायलको नीर ओजकी ४४ वर्षीया ड्यानिएल अलोनी र उनकी ६ वर्षीया छोरी एमिलिया।
इजारलकै ३४ वर्षीय डोरोन काट्ज आशेर र उनका दुई छोरीहरु ४ वर्षका राज र २ वर्षका अवीभ।
इजरायलकै किबुट्ज बेइरीकी वर्षीया एमिली ह्यान्ड।
इजरायलकै किबुट्ज बेइरीकी १३ वर्षीया हिला रोटेम शोशनी, उनकी आमा राया।
दक्षिणी इजरायलकी २१ वर्षीया माया रेगेभ र उनको भाइ इटाय
इजरायलकै नीर ओजका ९ वर्षीय ओहाद मुन्डर-जिचरी, उनकी आमा ५४ वर्षीया केरेन मुन्डर र उनकी हजुरआमा ७८ वर्षीया रुथी मुन्डर।
७९ वर्षीया चन्ना पेरीलाई उनका छोरा ५१ वर्षीय नादव पोपलवेल।
७७ वर्षीया हन्ना काटजिर र ४७ वर्षीय छोरा इलाद काटजिर।
इजरायलको नीर ओज ८५ वर्षीय याफा अदार।
६७ वर्षीया डा. शोशन हारान, ३८ वर्षीया छोरी आदि सोहम र उनका छोराछोरी आठ वर्षीय नाभ र तीन वर्षीय याहेल।
ड्रामा थेरापिस्ट, ५२ वर्षीया शेरोन अविग्दोरी र उनकी १२ वर्षीया छोरी नोआम,
१७ वर्षीय नोम ओर र उनकी बहिनी १३ वर्षीया अल्मा।
५३ वर्षीया शिरी वेइस र उनकी १८ वर्षीया छोरी नोगा।
इजरायल र हमासबीचको सम्झौता हुनु अघि चार बन्धकहरूलाई रिहा गरिएको थियो भने अर्को एक जनालाई इजरायली सेनाद्वारा मुक्त गरिएको थियो।
हमास र इजिप्टको सरकार बीचको छुट्टै सम्झौताको एक भागको रूपमा रिहा हुनेमा १५ विदेशी कामदारमध्येका ३३ वर्षीय लियोनो पाचेको र एक फिलिपिनो हुन्। तीन सन्तानका बुबा विगत चार वर्षदेखि इजरायलमा निर ओज किबुत्जमा ८० वर्षीया अमिता बेन ज्वीको हेरचाहकर्ताको रूपमा थिए, जसलाई पाचेकोले अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको बताए।
हमासले शुक्रबार रिहा गरेका थाई बन्धकमध्ये ३९ वर्षीय बुनथोम पान्खोङ र उनकी प्रेमिका नथवारे मुलाकान थिए। थाइल्याण्डका प्रधानमन्त्रीका अनुसार शनिबार रिहा भएका चार थाई नागरिकमध्ये नत्थाफोन ओन्काउ, खोमकृत चोम्बुआ, अनुचा आङ्काउ र मानी जिराचट रहेका छन्।