मंगलबार, पुस १, २०८२

बागमती सरकारले बनाइदियो जनताका १ हजार घर

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

हेटौँडा- बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ सम्पन्न भएका छन्। उपत्यकाका तीनबाहेक प्रदेशका १० जिल्लामा दुई हजार दुई सय २२ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

National life

मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्र पुनले आर्थिक वर्ष २०७९/८० सम्ममा एक हजार २३ घर निर्माण सम्पन्न भएका जानकारी दिए। उनका अनुसार अनुसार सङ्घबाट हस्तान्तरण भएका चार सय ६५ मध्ये दुई सय ३० घर निर्माण सम्पन्न भएका छन्। धादिङमा एक सय ९१, मकवानपुरमा ७५, चितवनमा एक सय १६, रसुवामा ३४, नुवाकोटमा ७३, सिन्धुलीमा चार सय ९२, दोलखामा ३९ र काभ्रेपलाञ्चोकमा तीन घर निर्माण सम्पन्न भएका पुनले जानकारी दिए। रामेछापमा ५० घर बन्नुपर्ने देखिए पनि सम्झौता नभएको भन्दै सिन्धुपाल्चोकमा पनि हालसम्म सम्झैता नभएको उनले बताए। 
घर निर्माणका लागि कार्यालयसँग सम्झौता गरेर पहिलो किस्ताको रू ८४ हजार रकम बुझेर काम नगर्ने सेवाग्राही मकवानपुरमा पाँच र चितवनमा एकजना रहेका मन्त्रालयको सहरी विकास तथा भवन महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मकवानपुरका मनहरि, कैलाश र राक्सिराङ गाउँपालिकामा चेपाङ, वनकरिया, बोटे र माझी एकीकृत बस्ती आवास कार्यक्रम कार्यान्वयन भइरहेको छ।

मकवानपुरमा जनता आवास कार्यक्रमअन्तर्गत एक सय ९७ घरको सम्झौता भएकामा ७५ घर निर्माण भएका सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ। दुई सय घर बनाउने लक्ष्य राखेर बजेट विनियोजन भए पनि तीन घरको सम्झौता गर्न नआएका कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेले जानकारी दिए। 

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ बनाएर बागमती प्रदेश सरकारले विपन्न, गरिबको घर बनाउने लक्ष्य राखेको जनाउँदै एक सय ९७ जनाले हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयमा सम्झौता गरेका बताए। उनका अनुसार सम्झौता गरेकामध्ये गत आव २०७९/८० को असार मसान्तसम्म ७५ जनाले मात्रै घर निर्माण सम्पन्न गरेका छन्। 

प्रकाशित: Nov 27, 2023| 06:02 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्