काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुन: काठमाडौं फर्काइएको छ। प्राविधिक समस्या देखिएपछि एयर इन्डियाको विमान नारायणघाट माथिको आकाशबाट डाइभर्ट गरेर काठमाडौं फर्काइएको हो।
एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए। काठमाडौंबाट आज साँझ ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको छ। आज उडान नहुने भएपछि कम्पनीले यात्रुलाई होटलमा लगेको छ।
शनिबार दिउँसो ३:४० मा काठमाडौंबाट दिल्ली जान तयार विमानको ढोका नलागेपछि लामो समय त्रिभुवन विमानस्थलमा नै रोकिएको थियो। साँझ ७ बजेर २ मिनेटमा विमान उडे पनि पुन: बीचबाटै फर्काएर त्रिभुवन विमानस्थल अवतरण गरिएको हो।
सुरुमा लामो समय ढोका नलागेको जानकारी परिचारिकाहरुले दिएका थिए।