काठमाडौं- भारतबाट नेपाल भित्र्याइएका १५ वटा मुर्रा जातका राँगालाई पोखरा, लहान र बाँकेका तीनवटा ठाउँमा राखिने पशु सेवा विभागले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मंसिरमा नेपालमा ल्याइएको हो।
भारतीय मुर्रा राँगाहरूबाट तीन वर्षपछि वार्षिक डेढ लाख मात्रा वीर्य संकलन गरी कम्तीमा एक लाख भैंसीमा कृत्रिम गर्भाधान गराउने सरकारी योजना छ।
मुर्रा भैंसीको दूधमा ६ देखि ८ प्रतिशत फ्याट (चिल्लो पदार्थ) र ८ प्रतिशतभन्दा बढी एसएनएफ (सोलिड्स-नट-फ्याट) अर्थात् चिल्लो तत्त्वबाहेकको ठोस पदार्थ पाइने अधिकारीहरू बताउँछन्।
भारतले दिएका मुर्रा राँगा नेपालगञ्जस्थित रुपेडिया नाका हुँदै स्वदेश ल्याइएको हो। उच्च नश्लका मुर्रा भैंसीले रैथाने भैंसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन्। सरकारले यहाँका रैथाने भैंसीमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो।