बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंमा सुरक्षा चुनौती दुर्गा प्रसाईं कि दुर्गा प्रसाईंलाई ?

काठमाडौंमा सुरक्षा चुनौती दुर्गा प्रसाईं कि दुर्गा प्रसाईंलाई ?

प्रसाईं समूहको आन्दोलनमा रोक लगाउन उनलाई घरमै सुरक्षा दिइएको दाबी स्थानीय प्रशासनले गरेको छ। प्रसाईंले भने आफू घरमै ‘नजरबन्द’मा परेको दाबी गरेका छन्।
 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं- बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र ब्याज मिनाहादेखि राजतन्त्र फर्काउनेसम्मका नारा लगाउँदै काठमाडौंमा बिहीबारदेखि दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भइरहेको छ। अनिश्‍चितकालसम्म आन्दोलन गर्ने घोषणा गरेका प्रसाईं समूहले शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको छ। यद्यपि दुर्गा प्रसाईंलाई भने दिनभर सुरक्षा घेरामा राखियो।

National life

प्रसाईं समूहको आन्दोलनमा रोक लगाउन उनलाई घरमै सुरक्षा दिइएको दाबी स्थानीय प्रशासनले गरेको छ। प्रसाईंले भने आफू घरमै ‘नजरबन्द’मा परेको दाबी गरेका छन्। आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरी परिचालन गरी घरबाट निस्कन नदिइएको उनको दाबी छ।

स्थानीय प्रशासनले रोक लगाउँदा लगाउँदै पनि प्रसाईं तीनकुनेमा कार्यक्रम गर्न जान लागेपछि प्रहरीले उनलाई घरबाट निस्कन नदिएको हो। यसपछि घरमै पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको बताए। ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने?’ उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो?’

‘म क्यान्सर सर्भाइभर हुँ। कति बाँच्छु मलाई नै थाहा छैन। प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ। हिजो जंगलबाट झिकेर सत्तामा पुर्‍याउने एउटा भर्‍याङ म पनि हुँ’, उनले थपे, ‘हिजो जनतालाई गरेको वाचा पूरा भयो कि भएन? आज उहाँलाई सत्तामा पुर्‍याउने र राजसंस्था फ्याँक्ने आज राजा भएको देशमा काम गर्दै छन्। उहाँहरूका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु। १७ हजार मरेका छन्। उनीहरूले के पाए? हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नुहुन्थ्यो। उहाँहरूको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ। पुलिसको यातना भोग्न पनि तयार छु।’

आफ्नो अभियान नरोकिने जिकिर उनले गरे। ‘यो व्यवस्था परिवर्तन नहुञ्जेल’ आफ्नो आन्दोलन जारी रहने उनले बताए। ‘स्कुलहरू चलुन्, एम्बुलेन्सहरू चलुन्, पसलहरू बन्द गरिदिनुस्’, प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस्, म भाग्नेवाला छैन।’

Laxmi sunrise bank
kumari

प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि उनी घरबाट निस्किन पाएनन्। तीनकुने क्षेत्रमा भेला भएका प्रदर्शनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।

यता प्रसाईंको नजरबन्दले संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुगेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। प्रसाईंलाई आन्दोलन गर्न नदिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत सरकारको विरोध गरेका छन्।

राप्रपा अध्यक्ष लिङ्देनले शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत सरकारले ‘धरपकड र नजरबन्द’ गरेको आरोप लगाएका छन्। अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस्।’

प्रसाईंले अहिलेको सत्ता आफूसँग त्रसित भएको उल्लेख गरेका छन्। उनले पत्रकार सम्मेलन गर्दै भने, 'भोलि पनि तीनकुनेमा आन्दोलन जारी रहनेछ। हामीमध्ये केही मरे पनि केही छैन। आन्दोलन जारी रहन्छ। हामी सबै पक्राउ दिऊँ न के गर्दो रहेछ, यो सरकारले।' प्रसाईंले अहिलेको सत्ता आफूसँग त्रसित भएको बताए पनि सरकारले भने दुर्गा प्रसाईंका लागि सुरक्षा चुनौती भएका कारण सुरक्षा व्यवस्था मजबुत पारिदिएको दाबी गरेको छ। उनलाई सुरक्षाका लागि भित्रै राखिएको गृह मन्त्रालयले बताएको छ।  
 
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द नगरिएको दाबी गरेका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उनले सो कुरा बताएका हुन्। ‘उहाँहरूले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानुनलाई चुनौती दिने र गैरकानुनी हर्कत गर्ने काम गर्नुभयो। यस्ता गैरकानुनी हर्कत काठमाडौंमा चल्दैन। उहाँलाई हामीले नजरबन्दमा राखेको छैन। उहाँ काठमाडौं छिरेदेखि सुरक्षा प्रबन्ध गर्दै आएका छौं,’ उनले भने।

उनले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएका छन्। ‘हिजोदेखि दुईवटा पक्षको काठमाडौंमा कार्यक्रम थियो। आज एउटा पक्षले त्यो कार्यक्रमलाई निरन्तर रुपमा अनिश्चितकालसम्म गर्ने भनेर अघि बढाइरहेको छ। त्यो सन्दर्भमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गर्ने र यथोचित सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा हामी बसिरहेका छौं,’ उनले भने।

बैठकमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको पनि उनले बताए। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाडौंमा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा स्थानीय प्रशासनसँग कुनै पनि अनुमति नलिकन आज तीनकुनेमा कार्यक्रम गर्ने र त्यहाँ भेला भई निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने, उहाँहरुमाथि आक्रमण गर्ने भन्ने अराजक शैलीको कार्यक्रम सार्वजनिक गरेकाले सो कार्यक्रमको सन्दर्भमा तीनकुने क्षेत्रमा अनुमति नलिकन पाइँदैन भनेका थियौं। बल्खुमा गर्नु भन्दा उहाँहरू आजसम्म अनुमति लिन आउनुभएको छैन,’ उनले भने।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरुमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको उनले स्पष्ट पारे। ‘काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएका छौं। काठमाडौं उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा छ। संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति, स्वतन्त्रता हक र बिना हातहतियार भेला जम्मा भई शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै यस्ता अराजक भीड जसले कानून हातमा लिन खोजेको छ, त्यस्ता समूह र व्यक्तिलाई चेतावनी स्वरुप अनुमति बिना कार्यक्रम गर्न पाइँदैन भनेका छौं,’ उनले भने।

प्रकाशित: Nov 24, 2023| 17:16 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्