काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच-सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले गठबन्धन भए पनि सरकारको जग नभएको टिप्पणी गरे।
उनले भने, ‘हिजो बल्खुमा भोलि उठी कहाँ जाने थाहा छैन भन्ने खालका... कहाँ हिँड्या हुन् थाहा छैन, केका लागि हिँड्या थाहा छैन, के माग हो, के नारा हो थाहा छैन। हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आए। यो सरकार त्यतिकैमा थर्कमान छ । पाँच-सात हजार मान्छे यसो हेर्न आए होलान्। जग नै नभएको सरकार भएकाले अहिले थर्कमान छ। एउटा किलो गाडेको छ भने हल्लिँदैन। यसो थेप्चो थेप्चो पारेर राखेको छ भने हावा आएर पनि ढलिहाल्छ। यो सरकार त्यस्तै हो। गठबन्धन छ, जरा छैन।'
जनतामा निराशा बढ्न खतरानाक भएको उनको भनाइ छ। उनले अहिले अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा हुँदा व्यवसायीहरुले सरकारको साथ पाउन नसकेको बताए। सरकारले सत्ता स्वार्थको मान्छेको ज्यान लिने व्यक्तिहरुलाई छाडेकोप्रति अदालतले चालेको कदम स्वागतयोग्य भएको पनि बताए।