सरकारले दुर्गा प्रसाईंको गणतन्त्र विरोधी आन्दोलन दबाउन उनलाई घरमै घेरेर राखेको छ भने सडकमा निस्किएकाहरुमाथि धरपकड गरेको छ। प्रसाईंले आफू 'होम अरेस्ट' मा रहेको बताएका छन्।
भक्तपुरको ठिमीस्थित निवासमै पत्रकार सम्मेलन गर्दै उनले भने, 'म अहिले 'होम अरेस्ट'मा छु।' उनले आफूलाई गिरफ्तार गरे पनि आन्दोलन नरोकिने बताए । 'मलाई सक्नुहुन्छ भने प्रहरी हिरासतमा लानुस्। केही फरक पर्दैन', उनले भने। उनले आज तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए।
प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यापारीको पोल्टामा गएको आरोप लगाए। ‘तपाईंहरू कम्युनिस्ट होइन, तपाईंहरू व्यापारी हो,’ प्रसाईंले भने।
प्रसाईंले आफूलाई घरबाट निस्किन नदिइएको भन्दै तीनकुने जान समर्थकहरूलाई अपिल गरेका छन्। आफू निस्किन नपाएपछि सबै कमान्डर बनेर खटिने उनको भनाइ छ।
उनको घर बाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। उनले आज तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए। लगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो।
यता सडकमा निस्किएका आन्दोलनकारीहरूलाई देख्नेबित्तिकै प्रहरीले पक्राउ गर्न थालेको छ। प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको नाममा तीनकुनेमा पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका कार्यकर्तालाई प्रहरीले धरपकड गरेको हो।
प्रत्यक्षदर्शीका अनुसार कार्यक्रममा सहभागी हुने आएका ८-९ जनालाई तीनकुनेबाट अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। तीनकुने क्षेत्रमा प्रहरीले सर्च अभियानसमेत सञ्चालन गरेको छ। प्रहरीले समूहमा जम्मा भएकामाथि निगरानी बढाएको छ।

प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो बल्खुमा प्रहरीमाथि आक्रमण गर्नेहरु आज समातिएका हुन्।
प्रहरीले उनीहरूको नाम सार्वजनिक गरिसकेको छैन। प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काउने र अराजकता फैलाउने काम उनीहरुले गरेको प्रहरीको भनाइ छ। यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ।
बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए। प्रसाईंले भाषण गरिरहँदा अब शहर पसेर आन्दोलन गर्ने भनेपछि भीड अनियन्त्रित भएर प्रहरीमाथि ढुंगामुढा गरेको थियो। त्यसक्रममा प्रहरीले अश्रुग्यास र रबरको गोली समेत चलाएको थियो।
प्रसाईंको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन्। बिहीबारदेखि काठमाडौंमा ‘व्यवस्था विरोधी’ आन्दोलन गरिरहेका प्रसाईं नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्, 'संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु। राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु। जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दछु।’
बिहीबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको जनाउँदै उनले घाइतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन्।
‘साथै आगामी दिनहरूमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र विद्यार्थीहरूको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन सञ्चालन गर्न आयोजकहरूमा अनुरोध गर्दछु,’ उनको आग्रह छ, ‘राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरू हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्छ।’