सिरहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा तीन युवकको मृत्यु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा बुधबार साँझ सवा ७ बजे भएको दुर्घटना भएको थियो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
मृत्यु हुनेमा अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्। दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी प्रादेशीक अस्पताल पुर्याउँदा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको हो।
दुर्घटनामा अर्नामा गाउँपालिका-५ कै १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन्। प्रादेशिक अस्पताल सिरहामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि गएराति नै विराटनगर रिफर गरिएको छ।
मोटरसाइकल तीव्र गतिमा रहेको र दुवै मोटरसाइकल चालकले हेलमेट नलगाएको पाइएको प्रहरीले जनाएको छ।