आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंको घरमा प्रहरी परिचालन, उपत्यकामा सुरक्षा सतर्कता बढ्यो

दुर्गा प्रसाईंको घरमा प्रहरी परिचालन, उपत्यकामा सुरक्षा सतर्कता बढ्यो

 |  बुधबार, मंसिर ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

vianetvianet

‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरी परिचालन गरिएको छ। भोलि बिहीबार हुन लागेको प्रदर्शनलाई लक्षित गरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ लोकन्थलीस्थित प्रसाईं निवास वरिपरि सुरक्षा तैनाथी बढाइएको हो।

प्रसाईंको घर आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। बल्खु र तीनकुनेमा बिहीबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ। बल्खुमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ भने एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरी स्रोतले बताएको छ। प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन्। काठमाडौंमा २ हजार ६३७, ललितपुरमा ५६४ र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन्। उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भएमात्र घरबाट बाहिर निस्कन भनेको छ।

आज एक सूचना जारी गर्दै प्रहरीले भोलि विभिन्न समूहले प्रदर्शन गर्ने भएकाले ट्राफिक व्यवस्थामा समस्या हुने भन्दै ट्र्राफिक प्रहरीलाई १०० वा १०३ नम्बरमा फोन गरी वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी आफू जाने रुटको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ।

'तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं,' प्रहरीले भनेको छ।

प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ। एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन्।

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ। प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौंका एसएसपीले गर्नेछन्। प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ। तीनकुनेमा भने अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न सम्भव छैन। प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ।

बिहीबार दुवै समूहले भक्तपुरबाट जुलुस निकाल्ने भएका छन्। युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानोठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने भएका हुन्। युवा संघको जुलुस मोटरसाइकल सहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्नेछ। च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्ने गरी रुट तय गरिएको छ।

दुर्गा प्रसाईं नेतृत्वको समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्ने र भित्री बाटो र चक्रपथ हुँदै बल्खु पुग्ने गरी रुट निर्धारण गरिएको छ।

यसैबीच प्रसाईंले आज आफ्नै घरमा पत्रकारहरुलाई बोलाएर भोलिको कार्यक्रमका बारेमा जानकारी दिएका छन्।

प्रसाईंले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौं आएको बताए। आन्दोलन सफल नभएसम्म घर (झापा) नफर्किने उनले बताए।

ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ। उनले भने, 'ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ, अब कसरी मुख देखाउनुहुन्छ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईंसँग अनुमति लिनुपर्छ।’

युवा संघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए। उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्य प्रसाशन मौन भएकोमा आपत्ति जनाए। ओली र बस्नेतलाई चेतावनी दिँदै उनले मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठूलो मूल्य चुकाउनुपर्ने बताए।

‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन्। हामीसँग पैसा नभए पनि धेरै मानिस छन्। कि जेल जान्छु कि मर्छु भनेर काठमाडौं आएको हुँ। आन्दोलन सफल नभएसम्म रोकिँदैन,’  उनले भने।

गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईंसँग राज्य हल्लिएको टिप्पणी गरे। पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए।

प्रसाईंले आफूहरुलाई जिस्क्याए काठमाडौंका मानिसले भात खान नपाउने गरी नाका ठप्प पारिदिने चेतावनी दिए। आफ्ना समर्थकहरुको हुटिङ र होहल्लाका बीच प्रसाईंले भने,‘भोलिदेखि विद्रोहको बिरुवा रोपिन्छ। साम्यवाद कस्तो हुन्छ भन्ने म देखाइदिन्छु।’

प्रकाशित: Nov 22, 2023| 15:32 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्