आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रसाईंलाई कालोमोसो दल्नेले नै महिलामाथि दुर्व्यवहार गरेको पुष्टि

प्रसाईंलाई कालोमोसो दल्नेले नै महिलामाथि दुर्व्यवहार गरेको पुष्टि

 |  बुधबार, मंसिर ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

vianetvianet

काठमाडौं- दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यका बाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ। सार्वजनिक भएको भिडियो फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो।

विनोद राई माओवादीबाट, विप्लव हुँदै एमालेमा आएका हुन्। उनको घर खोटाङ दिप्रुङ चुइचुम्बा गाउँपालिका हो। यसअघि दुर्गा प्रसाईंलाई येलो प्यागोडा होटलमा कालोमोसो दल्ने काम पनि उनैको नेतृत्वमा भएको बताइएको छ।

राईको नेतृत्वमा गएको समूहले मंगलबार बेलुका लोकन्थलीको इन्द्रसान पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो। महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेट्न खोजिएको भिडियो सार्वजनिक भएसँगै युवा संघको आलोचना भइरहेको छ।

महिलाहरूमाथि दुर्व्यवहार भएको विषयमा भक्तपुर प्रहरीमा राति १० बजेतिर फोन गएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थल पुग्दा दुर्व्यवहार गर्नेहरू भागिसकेका थिए। प्रहरीले राति ११ बजे नै युवा संघका अध्यक्ष क्षितिज थेवेलाई फोन गरेर घटनाको विषयमा जानकारी दिएको थियो। अध्यक्ष थेवेले आफूले प्रहरीबाटै थाहा पाएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सार्वजनिक भएको भिडयोमा सुत्ने तयारी गरिरहेका महिलाहरूलाई युवाहरूको समूहले त्यहाँबाट बाहिर निस्कन भनिरहेको सुनिन्छ। ‘७ गतेको कार्यक्रममा आउनुभएको हो? हेलो दिदीहरू?’ भनेको आवाज भिडियोमा सुनिन्छ। धम्कीपूर्ण शैलीमा युवाहरूको एक समूहले महिलाहरूलाई उक्त पार्टी प्यालेसबाट बाहिरिन भनेका छन्।

जवाफमा महिलाहरूले भनेका छन्- ‘हामी जान्छौं, लुगा लगाउन दिनुस् हामीलाई।’ युवाहरूले महिलाहरूलाई छिटो पार्टी प्यालेसबाट निस्कन भनेका थिए। एक जना युवाले भिडियो खिच्दै भनेका छन्- दुर्गा प्रसाईंलाई फोन गर्नू, युवा संघले हामीलाई निकाल्यो भनेर। हेलो दिदीहरू दुर्गे प्रसाईंलाई फोन गर्नुस् युवा संघले लखेट्यो भनेर, गइहाल्नु गइहाल्नु। साथै युवाहरूले प्रदर्शनका लागि आएकाहरूलाई काठमाडौंमा कतै पनि बास बस्न नदिने भनेको भिडियोमा सुनिन्छ। महिलाहरूले राति भएकोले पार्टी प्यालेसमा बस्न दिन आग्रह गरेका थिए।

durga-prasain-1700632270.jpg
पार्टी प्यालेसबाट निकालिएपछि महिलाहरूले मेडिकल व्यवसायी प्रसाईंलाई फोन गरेका थिए। केही बेरपछि प्रसाईंका स्वकीय सचिव बताउने एक व्यक्तिले जिल्ला प्रहरी परिसर काठमाडौंमा फोन गरेर सुरक्षा माग गरेका थिए। केहीबेरमा डीएसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली महिलाहरूको समूह भएको ठाउँमा पुग्दा धम्क्याउने युवाहरु हिँडिसकेका थिए। सुरक्षाका लागि प्रहरीहरू बसेपछि महिलाहरु त्यहीँ सुते र आज बिहान गौशालातिर जाने भनेर निस्किए।

प्रसाईंले आफ्ना समर्थकमाथि युवा संघका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन्। राजधानीमा बिहीबारदेखि आयोजना गर्न लागिएको विरोध प्रदर्शनमा भाग लिन आएका समर्थकमाथि युवा संघका कार्यकर्ताले आक्रमण गरेको उनले बताए।

आफ्ना समर्थकलाई युवा संघका कार्यकर्ताले कोटेश्वर, गौशाला, नयाँ बसपार्क र सुन्धाराका होटलमै प्रवेश गरेर धम्की दिइरहेको पनि प्रसाईंले बताए। उनका अनुसार प्रदर्शनमा भाग लिन विभिन्न जिल्लाबाट समर्थकहरू राजधानी आउन थालेका छन्।

काठमाडौंमा मंसिर ७ गते युवा संघ र प्रसाईं पक्षले कार्यक्रम गर्न लागेका छन्। दुवै टोलीले माइतीघरमा कार्यक्रम गर्ने सम्भावना देखेपछि काठमाडौं प्रशासनले एक महिना माइतीघर-नयाँ बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोकेको छ भने दुवै पक्षलाई कार्यक्रम गर्ने स्थानसमेत तोकिदिएको छ। यसअनुसार युवा संघले तीनकुनेमा र प्रसाईंले बल्खुमा कार्यक्रम गर्दैछन्।

प्रकाशित: Nov 22, 2023| 12:15 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्