शुक्रबार, पुस ४, २०८२

इजरायल र हमासबीच अस्थायी युद्धविराम, ५० जना बन्धक छुट्ने

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

युद्धरत इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच अस्थायी युद्धविराम भएको छ। अन्तर्राष्ट्रिय समुदायको लगातारको दबाब र प्रयत्नपछि चार दिनका लागि युद्ध थामिएको हो।

National life

इजरायल र हमास गजामा बन्दी बनाइएका ५० भन्दा बढी महिला र बालबालिकालाई पहिलो चरणमा मुक्त गर्न दुवै पक्षा सहमत भएका छन्।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार इजरायल र हमासबीचको सो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ। यो अनुमोदनसँगै बन्दीहरु मुक्त हुने प्रक्रिया चाँडै सुरू हुनेछ।

सहमतिअनुसार हमासले यी बन्दीहरु मुक्त गरेवापत इजरायलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ।

अक्टोबर ७ (असोज २० गते) मा हमासले इजरायलमा आक्रमण गरी त्यहाँबाट २६ विदेशी मुलुकका र इजरायली नगारिक गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो। बन्धक बनाइएकामा एक नेपाली पनि छन्।

Laxmi sunrise bank
kumari

अरु बन्दीहरु कहिले छाडिने भन्ने प्रष्ट नभए पनि पहिलो चरणका ५० बन्दी मुक्त भएपछि इजरायलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

हमासले सबै २३९ बन्दी मुक्त गरेवापत इजरायलले पनि आफ्नो हिरासतमा रहेका १५० जना प्यालेस्टिनियन नागरिकहरुलाई मुक्त गर्ने सहमति भएको जनाइएको छ। तर सो सहमतिबारे इजरायल सरकारले केही भनेको छैन।

हमासले बन्दी बनाएका आफन्तजनहरु चाँडै फर्केर आउने अपेक्षामा इजरायल र संसारका विभिन्न मुलुकमा परिवारहरु व्यग्र प्रतिक्षामा छन्। यी बन्दीहरु छुटाउन अमेरिका सहित हमाससँग राम्रो सम्वन्ध भएको कतारले पनि महत्वपुर्ण भूमिका खेलेका थिए।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यसलाई हमास-इजरायल युद्ध अन्त्य भएको नठान्न भनेका छन्। ‘हामी युद्धमै छौं। हाम्रो उद्धेश्य पूरा नभएसम्म युद्ध जारी रहन्छ,’ उनको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

अक्टोबर ७ को बिहानै प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि जमिन र आकाशबाट आक्रमण गरेका थिए। हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो।

आक्रमणका दिन हमासले त्यहाँबाट इजरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गाजा लगेका थिए। त्यसयता इजरायलले गजामा हमासविरूद्ध लगातार आक्रमण गर्दै आइरहेको छ। उसले गजाबाट हमासलाई सखाप पार्ने घोषणा गर्दै आएको छ। इजरायलको आक्रमणबाट गजामा अहिलेसम्म १३ हजार ३ सय प्यालेस्टिनियन नागरिकहरूको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ।

ठूलो संख्यामा नागरिकहरू मारिएपछि गजामा युद्धविराम गर्न इजरायलमाथि अन्तराष्ट्रिय शक्तिकेन्द्रहरूको दबाब बढिरहेको थियो। संयुक्त राष्ट्रसंघले पनि इजरायललाई गजामा युद्धविराम गर्न आग्रह गरेको थियो।
 

प्रकाशित: Nov 22, 2023| 09:02 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्