गाजापट्टी- हमास नेता इस्माइल हानियाले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मंगलबार बताएका छन्। यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौं व्यक्तिलाई हमासको लडाकु समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ।
'हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौं,' एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियाले भनेका छन्।
वार्ताकारले प्यालेस्टाइनी लडाकुले बन्धक बनाएका करिब २४० जनामध्ये केहीलाई मुक्त गर्न एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन्। गएको महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजरायली छन्। केही बालबालिका र वृद्धवृद्धा पनि छन्।
बन्धक बनाइएका मध्ये केहीलाई मात्र रिहा गरिएको छ। केहीलाई इजरायली स्थल सैनिकले मुक्त गराएका छन्। केहीको शव बरामद गरिएको छ। बाँकीको सटीक ठेगाना थाहा छैन। यद्यपि, हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजरायलले लगातार बमबारी र स्थल कारबाही थालेको गाजामा बन्धक रहेको मानिएको छ।
हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब एक हजार २०० मानिसलाई मारेको थियो। मारिनेमा अधिकांश सर्वसाधारण थिए। हमासका अनुसार इजरायली हमलामा गाजामा १३ हजार ३०० भन्दा बढी मानिस मारिएका छन् र उनीहरूमा हजारौं बालबालिका रहेका छन्।
नाम नछाप्ने सर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको सर्तमा सहमत भएको बताएको छ। इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टाइनी लडाकु समूह हो, जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो।
अस्थायी सम्झौतामा पाँचदिने युद्धविराम समावेश छ। यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजरायली हवाई सञ्चालनको सीमा समावेश छ। बदलामा प्यालेस्टाइनी लडाकु समूहले पक्रिएका ५० देखि १०० मानिसलाई रिहा गरिनेछ। तीमध्ये इजरायली र अरू मुलुकका मानिसलाई रिहा गरिनेछ। कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन।
प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब ३०० प्यालेस्टाइनीलाई पनि इजरायली जेलहरूबाट रिहा गरिनेछ।
सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकलाई रिहा गर्ने सम्झौतानजिक पुगेको आफूलाई लागेको बताएका थिए। उनका अनुसार कतारको मध्यस्थतामा वार्ताको आशा बढेको छ। कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ। इजरायलको पनि कतारसँग पर्दापछाडि कूटनीतिक सम्बन्ध छ।
यस्तै, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार आफ्ना अध्यक्षले इजरायल र गाजामा सशस्त्र संघर्षसँग सम्बन्धित मानवीय मुद्दालाई अगाडि बढाउन हमासका नेता हानियेहलाई भेट्न कतारको भ्रमण गरेको जनाएको छ। रासस/एएफपी