शुक्रबार, साउन २, २०८२

फूल नबिकेपछि किसान चिन्तित 

 |  मंगलबार, मंसिर ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

vianetvianet

झापा- व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि चिन्तित बनेका छन्। तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ।

बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए।

गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उनले गुनासो गरे।

तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार जमाएपछि  स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उनको भनाइ छ। 

‘भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो’, उनले भने, ‘जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो। हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेनन्।’

अहिले उनको फूलखेतीमा दुई हजार पाँच सय केजी (२५ क्विन्टल) बराबर सयपत्री फूल ढकमक्क फुलेको छ।

कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको उनको भनाइ छ। हालको बजारभाउ अनुसार तिहारमा कम्तीमा पाँच लाखको फूल बिक्री हुने आशा गरेका उनले ७० हजारको मात्र फूल बिकेको बताए। उनले फूलखेतीमा एक लाखभन्दा बढी लगानी गरेको बताए।

सुरुमा प्रतिकेजी दुई सय ५० मा फूल बोटबाटै बिक्री भएतापनि तिहारको मुख्य दिनमा ५० प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाउँदा ज्यादै निराश बनेको उनको गुनासो छ।

जिल्लामा तिहारको बेला एक करोडको सयपत्री फूल र १० करोडको झिलीमिली बत्ती बिक्री हुने गरेको छ। खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सयपत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन्।

स्थानीय व्यापारीहरू भारतबाट आएको सयपत्री फूलको माला २५ प्रतिकेजीका दरले बिक्री भएको बताउँछन्। भन्सार अधिकारीहरूका अनुसार नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरे तापनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा भएको थिएन।

खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयुर्वेदिक औषधि उत्पादकहरूले खरिद गरेर लैजान्छन् भनेर सुने तापनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको बिर्तामोडका किसान दलबहादुर अधिकारीले बताए। चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना छैन।

प्रकाशित: Nov 21, 2023| 10:41 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्