काठमाडौं- इजरायलबाट हमास समूहले ७ अक्टोबरमा अपहरण गरेको भनिएका विपिन जोशीका परिवार छोरा फर्किने आशामा दिन गन्दै बसिरहेका छन्। विपिनका आमाबुबाले गृहजिल्ला पुगेका परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरी छोराको सकुशल रिहाइको याचना गरे। परराष्ट्रमन्त्रीले पनि सरकारले विपिनको रिहाइका लागि पहल गरिरहेको भन्दै आश्वस्त पारे।
तर, आइतबार परराष्ट्रमन्त्री साउदको सचिवालयले नै विपिन गाजामा सुरक्षित रहेको भन्दै समाचार लेखायो। परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पनि त्यसैमा हो थप्दै विपिन जोशी गाजामा सुरक्षित रहेको बताए।
परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले रातोपाटीसँग कुरा गर्दै भनेका थिए, 'उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ। अब उद्धारको लागि सरकारले थप सक्रियता देखाउने छ,’ उनले भने। परराष्ट्र मन्त्री एनपी साउदले पनि आइतबार राति विपिनका परिवारलाई टेलिफोन सम्पर्क गर्दै उनी गाजामा सुरक्षित रहेको खबर प्राप्त भएको बताएका थिए। तर इजरायलस्थित नेपाली दूतावासले भने सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै विपिनको अवस्था प्रष्ट हुन नसकेको उल्लेख गरेपछि उनको परिवार अलमलमा परेको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतकै निकायहरुको कुरा बाझिएपछि परिवारजनमा थप आघात पुगेको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’ सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशीसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।
इजरायलले हमासले बन्धक बनाएका नेपालीसहित दुई जनाको भिडियो सार्वजनिक गर्यो। सार्वजनिक भएको भिडियोमा देखिएका दुई मध्ये एक जना व्यक्ति सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान संकायका विद्यार्थी विपिन भएको इजरायली डिफेन्स फोर्सले दाबी गरेको छ। त्यो पुरानो भिडियोलाई नै आधार मान्दै परराष्ट्रमन्त्रीको सचिवालयले विपिनको अवस्था पत्ता लागेको भन्दै प्रचार गरेको थियो।
त्यो भिडियो पुरानो भएका कारण जोशीको पछिल्लो अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। ‘त्यो भिडियो अहिलेको होइन, ७ अक्टोबरकै रहेछ। भाइ हमासको नियन्त्रणमा छन् भन्ने कुरा भिडियोले पुष्टि गरेको छ तर अहिले भाइको अवस्था कस्तो छ ? त्यो बारे जान्न पाए हुने थियो,’ विपिनका दाजु किशोरले भने ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी इजरायलमा हमासले ७ अक्टोबरमा गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए। उनीसँगै अध्ययन र कामका लागि इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको भने मृत्यु भएको थियो। जोशीलाई हमासको नियन्त्रणमा छुटाएर सकुशल घर फिर्ताका लागि नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावासलाई विपिनको परिवारले आग्रह गर्दै आएको छ। तर, सरकार भने हचुवाको सूचनाका आधारमा परिवारजनको पीडामा थप आघात पुर्याउने काम गरिरहेको छ।