नेपाली कांग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने भएको छ। टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो।
जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय कांग्रेसले गरेको छ। प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनेछन्। एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाउने निर्णय भएको छ।
चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो। साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ।
चिसोले गर्दा भूकम्प प्रभावित क्षेत्रमा ११ जना भूकम्पपीडितको मृत्यु भइसकेको छ। कांग्रेसले जाजरकोट र रूकुम पश्चिममा गरी एक हजार टहरा बनाउने तयारी गरेको छ। पदाधिकारी बैठकमा भूकम्प प्रभावित क्षेत्र पुगेका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले भूकम्प पीडितका अवस्था र समस्याबारे जानकारी गराएका थिए।