मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा यही मंसिर ७ गते बिहीबार काठमाडौंमा जनप्रदर्शन हुँदैछ। ‘बृहत् नागरिक मुक्ति आन्दोलन’नाम दिइएको यो प्रदर्शनका लागि देशैभरबाट मानिसहरु काठमाडौंमा ओइरिने दाबी प्रसाईंले गरिरहेका छन्।
त्यही दिन नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ। एकै ठाउँमा दुई 'दुष्मन' को कार्यक्रम हुने भएपछि सुरक्षा निकायका लागि यो टाउको दुखाइ बनेको छ। सुरक्षा व्यवस्थालाई लिएर गृह प्रशासनले छलफल थालिसकेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर देशको शान्ति सुरक्षाको बारेमा जानकारी लिएका थिए। मंसिर ७ को सुरक्षा तयारीको विषयमा पनि प्रधानमन्त्रीले चासो राखेका थिए।
सुरक्षा निकायले प्रसाईँको आन्दोलनसँगै युवा संघको कार्यक्रमले झडपको स्थिति ल्याउन सक्ने आकलन गरेको छ। युवा संघको कार्यक्रमको नेतृत्व एमाले नेता महेश बस्नेतले गरेका छन् भने प्रसाईं पनि सडकमा उत्रिनेछन्। यी दुईबीच सार्वजनिक कार्यक्रम, मिडिया र सोसल मिडियामा विष वमन चलिरहेको छ। प्रसाईँ र बस्नेतले एकअर्कालाई तल्लो स्तरको गालीगलौज गर्दै आएका छन्।
युवा संघले गत असोज २२ गते कान्तिपथस्थित होटल एलो प्यागोडमा प्रसाईँमाथि कालो मोसो दलेपछि उनीहरुबीच दुष्मनी बढेको हो। मोसो दलिएपछि केपी ओली जिन्दावाद र महेश बस्नेत जिन्दावादको नाराबाजी भएको थियो। त्यसपछि प्रसाईंले महेश बस्नेतको निर्देशनमा मोसो दलिएको दाबी गरे। घटनालगत्तै बस्नेतले फेसबुकमा लेखे, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, मोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले तह लाएछन्। अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ। यस्तालाई सरकारले कारबाही गरोस्। जन प्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाईं।’
त्यसको केही दिनपछि झापाको एक कार्यक्रममा पुगेका बस्नेतको पार्किङ गरेर राखेको गाडीमा तोडफोड भएको थियो। त्यसपछि बस्नेत र प्रसाईँ सामाजिक सञ्जालमा एक अर्काप्रति आक्रामक देखिएका छन्। बिहीबार हुने दुई कार्यक्रमले थप झडप निम्त्याउने सुरक्षा निकायको विश्लेषण छ।
शनिबार पार्टी मुख्यालय च्यासलमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू देशभरबाट मान्छे उतार्न लागेको बताए। उनले भने,‘एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरू उतार्न. ती मानिसहरू आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो।’
अध्यक्ष ओलीले आफूहरूले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको बताए। ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा विद्यार्थी र त्यसको पृष्ठभागमा युवा विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं। हामीले थोरै संकेत मात्र गर्न खोजेको हो’, उनले भने। देशमा अनियमितता र बेथितिले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए। ओलीले कार्यकर्ताहरुलाई ७ मंसिरमा समयमै आउन उर्दी पनि जारी गरे। ओलीले एमाले कसैविरुद्ध जाइनलाग्ने बताए। ‘कसैसँग जाइलाग्ने नीति लिदैनौं। जोशिलो तर आक्रामक होइन। तोडफोड गर्दैनौं, आफ्नो सुरक्षा आफैँ गर्छौं,’ उनले भने।
ओलीले युवा भएर घर नबस्न चेतावनी दिए। ‘युवा भएर पनि ७ मंसिरमा घर बसियो भने त... खुट्टा फ्क्याक्चर भए अर्कै कुरा। ७ मंसिरमा युवाहरू घर बसे भने संगठन केका लागि? जनवर्गीय संगठनका सदस्यहरू घर बसे भने संगठन के का लागि? ७ मंसिर मैदान उत्रनेछौं,' उनले भने।