गुल्मीमा एक जनाको शब फेला परेको छ। जिल्लाको कालिगण्डकी गाउँपालिका-१ हर्मीचौर निवासी २९ वर्षका रमेश भट्टराई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कात्तिक ३० गते हर्मीचौरतर्फ लु.१६प. ४३९५ नम्बरको मोटरसाइकलमा गएका उनी घरमा फर्केर नआएपछि परिवारका सदस्यले १ मंसिरमा खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले खोज्ने क्रममा शनिबार कालिगण्डकी गाउँपालिका-१ हनुमान पार्कस्थित कच्ची सडकदेखि २० मिटर तल भीरमा उनको मोटरसाइकल र शव भेटिएको हो।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक अनिल थापासहितको प्रहरी टोली पुगेको छ। शव गुल्मी जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टमपछि आफन्तले बुझेका छन्।