काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा १४ जनालाई पक्राउ गरिएको छ। प्रहरीले झडपमा संलग्न भएको भन्दै शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो।
शनिबार बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन्। शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए।
नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो। सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो। तर, स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए।
स्थानीयको आक्रमणबाट डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए। शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए।
उनका अनुसार शुक्रबार प्रहरी पुग्दा स्थानीयले आफ्ना माग दोहोर्याउँदै प्रदर्शन गरिरहेका थिए। त्यही क्रममा झडप भएको वडाअध्यक्ष तामाङको भनाइ छ। वडाअध्यक्ष तामाङले भने, ‘हिजो (शुक्रबार) चार जनालाई प्रहरीले पक्राउ गरेको थियो। आज (शनिबार) बिहान पनि प्रहरीले घर-घरबाट मान्छे उठाइरहेको छ।’