काठमाडौं- इजरायलबाट ७ अक्टोबरदेखि हमास समूहको नियन्त्रणका रहेका कञ्चनपुरका विपिन जोशीका बाबुआमाले परराष्ट्रमन्त्री एनपी साउँदसँग आफ्नो छोराको रिहाइका लागि पहल गरिदिन अपिल गरेका छन्।
गृहजिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री एनपी साउदसँग शनिबार विपिनका बाबुआमाले भेटेका हुन्। ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनुपर्यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनुपर्यो।’
भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए।
भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए। ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उनले भने।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उहाँसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए।
गत असोज २० गते हमास समूहले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन।