सोमबार, वैशाख १४, २०८३

व्यावसायिक फूलखेतीमा 'कृषि प्राविधिक'

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ मौरीफाँटाका विष्णु विकले स्थानीय विणा माविमा चार वर्ष कृषि जेटिए विषयमा शिक्षण गरे। कृषि प्राविधिक विकले कृषि पेसा अँगाल्ने उद्देश्यले शिक्षण पेसा छोडेर अहिले व्यावसायिक फूलखेती गरिरहेका छन्। 

National life

यस वर्षको तिहारमा उनले चार क्विन्टल सयपत्री फूल बिक्री भएको जानकारी दिँदै सबैतिर फूल प्रशस्त उत्पादन भएकाले बिक्रीमा गिरावट आएको बताए।

'चार वर्ष अध्यापनकै क्रममा नमूनाका रुपमा दुई कठ्ठा जग्गामा फूलखेती गरेँ', विकले भने, 'राम्रै मुनाफा देखेपछि शिक्षण पेसा छोडेर अहिले एक बिघामा खेती गरेको छु।' धनगढीमा ‘सिटी फ्लावर्स एण्ड गिफ्ट सप’ सञ्चालन गरेर फूलकै कारोबार पनि थालेको उनले बताए।

फूल खेतीबाट राम्रै मुनाफा हुने गरेको बताउँदै एक जना कृषि जेटिएलाई रोजगारीसमेत दिएको विकले जानकारी दिए। 'यो साल घरघरमा फूल फुलेकाले बिक्री कम भयो', उनले भने, 'सात क्विन्टल जति छ, मङ्सिरमा विवाह, ब्रतहरुमा बिक्री भइहाल्छ।' 

विकले थोरै लगानीबाट पनि व्यावसायिक रुपमा फूल खेती सुरु गर्न सकिनेमा जोड दिए। 'फूल बिक्रीको मौसममा मासिक ५०/६० हजारभन्दा माथि मुनाफा भइहाल्छ', उनले भने, 'कञ्चनपुरमा पनि पछिल्लो समय व्यावसायिक रुपमा फूल खेती गरिनु राम्रो विषय हो।'

kumari

कञ्चनपुरको कृषि ज्ञान केन्द्रमा कार्यरत कृषि प्राविधिक जनक सिंहले पनि महेन्द्रनगरस्थित जानकी कन्या माविको जमिन भाडामा लिएर सयपत्री फूलको खेती गरेका छन्।

'गत वर्ष केन्द्रका चार जना कर्मचारी मिलेर यहाँको तिल्केनीमा दुई बिघामा फूल खेती गरेका थियौँ', उनले भने, 'उक्त ठाउँ बजारभन्दा अलि टाढा भएकाले बजार छेउमै पाँच कठ्ठा जग्गामा खेती थालेका छौँ।' यस वर्ष तिहारमा स्थानीय फूल प्रशस्तै फूलेकाले कम बिक्री भएको उनको भनाइ थियो।

'बजारमा ठेलामा फूल बिक्रीका लागि लगेँ', सिंहले भने, 'पाँच कठ्ठामा लगाइएको खेतीमा कृषि जेटिएअन्तर्गत प्रयोगात्मक प्रयोजनका लागि विद्यार्थी पनि सम्मिलित छन्।'

उनले भीमदत्त नगरपालिका, दोधारा चाँदनी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा कृषकले व्यावसायिक रुपमा फूल खेती गर्न थालेको जानकारी दिए। 'यहाँ चाडपर्वमा सयपत्री फूलको प्रयोग विगतमा भन्दा बढ्दै गएको छ', उनले भने, 'यसले फूल खेतीमा पनि कृषकको आकर्षण बढेको हो।'   -रासस

प्रकाशित: Nov 17, 2023| 22:22 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्