शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • धराप थापेर गैँडा मार्ने गिरोह सक्रिय, निकुञ्‍ज सुरक्षामाथि चुनौती

धराप थापेर गैँडा मार्ने गिरोह सक्रिय, निकुञ्‍ज सुरक्षामाथि चुनौती

निकुञ्‍जभित्र खाल्टो खनी धरापमा पारेर गैँडा मार्न थालेपछि निकुञ्‍जको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ। खाल्टो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेको यस घटनाले देखाएको छ।
 |  शुक्रबार, मंसिर १, २०८०

नारायण अधिकारी 

नारायण अधिकारी 

शुक्रबार, मंसिर १, २०८०

चितवन- दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा तस्करले धरापमा पारेर मारेका छन्। दुवै गैँडा खाल्टोमा परेर मरेका हुन्। विगत लामो समयदेखि तस्करले खाल्टो खनेर गैँडा धरापमा पारेका थिएनन्। करिब २० वर्षअघि यसरी गैँडा मार्ने गरिएकामा पछिल्ला वर्षहरुमा गोली हानेर, करेन्ट लगाएर तस्करहरुले गैँडा मार्दै आएका थिए।

निकुञ्जभित्र खाल्टो खनी धरापमा पारेर गैँडा मार्न थालेपछि निकुञ्जको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ। खाल्टो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेको यस घटनाले देखाएको छ। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुईवटा खाल्टामा गैँडालाई धरापमा पारेर मारिएको थियो।

६ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दस दिनमा फेला परेको निकुञ्जको अनुमान रहेको छ। उनका अनुसार नजिकै अर्को खाडल पनि भेटिएको छ। पाँच सय मिटर वरपर हेर्दा थप खाल्डा भने भेटिएनन्। तस्करले खाल्टाको माटो केही पर लगेर फालेको देखिएको छ। कोदालो, गैँचीजस्ता साधन प्रयोग गरेर खाल्टो खनिएको अनुमान गरिएको छ। खाग लगेर खुर छाडिएको छ।

सोही क्षेत्रमा निकुञ्जले चाडपर्वको समयमा गस्ती बढाएको जनाएको थियो बिहीबार दुई मृत गैँडा भेटिँदा सोही क्षेत्रमा ५२ औँ दिनसम्म नियमित हात्तीको गस्ती थियो। दसवटा हात्तीमा निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्वी क्षेत्रमा गस्ती गरिरहँदा पनि दसैँ र तिहारको बीचको समयमा तस्करहरुले खाल्टोमा पारेर गैँडा मारेका हुन्। यो विधि प्रयोग गर्न समय लाग्ने सूचना अधिकारी तिवारीले बताए।

raino-1700189570.jpg

उनको भनाइमा तस्करले गैँडाको बाटो पहिचान गरी खाल्टो खनेर नजिकैबाट चियो गरेको देखिन्छ। गैँडा मरेपछि खाग काटेर लगेका हुन्। यो लामो समयसम्म निकुञ्जभित्र रहेर तस्करले निर्धक्कसँग गैँडा मारेको पाइएको छ। सो क्षेत्रमा रहेका गैँडामध्ये १२ वटा बाढीले बगाएकाले  भारतीय भूमिमा पुगेर उद्धार गरी ल्याइएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले तस्करले पुरानो विधि प्रयोग गरेको पाइएको र यसले  सुरक्षामा चुनौती थपिएको बताए। निकुञ्ज प्रशासनले यो घटनालगत्तै रणनीतिक हिसाबले अनुसन्धान थालेको र  तस्कर पक्राउ गर्ने जिकिर गर्दै उनले तत्काल पूरै निकुञ्ज ‘स्वीप’ गरिने जानकारी दिए। 

निकुञ्जका सबै क्षेत्रमा पुग्नेगरी गस्ती बढाइने प्रमुख संरक्षण अधिकृत पुनको भनाइ थियो। कतिपय यस्ता घटना थाहै नहुने भन्दै उनले घटना भएको तेस्रो दिन गस्ती टोली पुगेको पनि बताए। निकुञ्जभित्र यतिबेला बाक्लो झाडी भएकाले  नजिकै पनि देख्न मुस्किल हुन्छ। प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘सुरक्षामा चुनौती थपिएको छ। हामी यसलाई गम्भीररुपमा लिएर रणनीतिक हिसाबले काम गर्छौं।’

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं हालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले नयाँ चुनौती थपिएको बताए। बीस/२५ वर्ष पहिले तस्करले प्रयोग गरेको विधि अहिले प्रयोग भएको भन्दै उनले खाल्टो खनुन्जेलसम्म पनि संयन्त्रले थाहा नपाउनु दुःखद् भएको बताए।

विभाग, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल छलफल गरेर छानबिन र अनुसन्धान सूक्ष्मढङ्गले अघि बढाउने बताए। समग्र सबै क्षेत्रमा चुनौती देखिएको भन्दै उनले सूष्मरूपमा निकुञ्जभित्र गस्ती गर्नुपर्नेमा जोड दिए। उपमहानिर्देशक ढकालले भने, ‘निकुञ्जभित्र अरु पनि खाल्टा खनिएको र घटना भएको हुनसक्छ। सूष्म अध्ययन गर्नुपर्छ।

समग्र संरक्षणका बिधि पद्धती, तरिकाको समीक्षा गरिनुपर्छ।’ उनले थपे– ‘विभागले यो घटनालाई गम्भीररुपमा लिएको छ।  स्थानीय समुदायसँग सहकार्य बढाएर संरक्षणमा लाग्नुपर्छ।’ सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए। पछिल्ला वर्षहरुमा वन्यजन्तु चोरी सिकारी निकै घटेर गएको थियो। कतिपय वर्षहरुमा  निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो। गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका  र  तस्कर पक्राउ परेका थिए।    -रासस

यो पनि

 

प्रकाशित: Nov 17, 2023| 14:11 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्