मंगलबार, वैशाख १५, २०८३

रामायण भवन प्रयोगविहीन

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

तनहुँ- तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ। रु दुई करोड ५० लाखमा निर्माण गरिएको प्रयोगमा नआउँदा ताला लगाइएको छ। 

National life

भानुभक्तसम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसार गर्नेलगायतका उद्देश्यका साथ भवन निर्माण गरे पनि प्रयोगमा आउन नसकेको हो। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले रामायण भवन निर्माण गरे पनि यसको संरक्षणतर्फ ध्यान पुग्न सकेको छैन।

आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, स्थानीय निकाय र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्मस्थलप्रति बेवास्ता गरेको स्थानीय बासिन्दा सन्देश आचार्यले बताए।

पछिल्ला समयमा भवनका सामान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र स्थानीय बासिन्दाले गफ गर्ने स्थलका रूपमा प्रयोग भएको छ। सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो।

करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्तकालय, शौचालय, पोखरीलगायत संरचना निर्माण गर्ने गुरुयोजना भए पनि हाल अलपत्र अवस्थामा छ। उक्त गुरुयोजनाका लागि अनुमानित लागत रु १६ करोड रहेको छ। पर्यटकलाई थप आकर्षित गर्न आदिकविको एक सय फिट अग्लो सालिक निर्माणलगायत योजना छ।

kumari

जुन उद्देश्यले रामायण भवन निर्माण गरिएको हो, सोअनुरुप प्रयोगमा नआई अलपत्र अवस्थामा देखिँदा दुःख लागेको भानु नगरपालिका–५ सेपाबगैँचाका भरत पोख्रेलले बताए।
 
कलात्मक बुँदा कुँदेर बनाइएको काठलाई धमिराले खान थालेको देख्दा दुःख लागेको छ”, उनले भने, “यसको उचित संरक्षणका लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ।” 

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साविक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले भवन संरक्षणका लागि प्रहरी चौकी राख्न माग गरे पनि सुनुवाइ नभएको बताए। विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रूपमा भानुभक्त जन्मिएका थिए। उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बिजारोपण गरेका थिए। भानुभक्तका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधुशिक्षा’, ‘रामगीता’लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्। भानुभक्तको १९२५ असोज ६ गते चुँदीरम्घामा निधन भएको थियो।

प्रकाशित: Nov 16, 2023| 12:02 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्