शनिबार, असार ७, २०८२

देशका विभिन्‍न ठाउँबाट जुवातास खेल्ने ९० जना पक्राउ

 |  मंगलबार, कात्तिक २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

vianetvianet

काठमाडौं- तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौंबाट १७, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट चार, डडेलधुराबाट १३, दार्चुलाबाट सातजना र सङ्खुवासभाबाट सात जना गरी ९० जना पक्राउ परेको जनाइएको छ।

काठमाडौंको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दङ्गालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दङ्गालसमेत आठ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार आठ सय ३५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो। 


यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत नौ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। सोही चौकीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार आठ सय ५५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो।

कञ्चनपुर, भीमदत्त नगरपालिका–१७ बाँसखेडा बस्ने भीमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय इन्द्र पाठकसमेत २८ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ५८ हजार छ सय ९४ रुपैयाँ र ताससहित पक्राउ गरेको हो।

यसैगरी सोही नगरपालिका–१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१४ बस्ने ३८ वर्षीय दीनेश खत्री लगायत छ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद २५ हजार चार सय ६० रुपैयाँ र तास पाँच थानसहित पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रामबहादुर राना समेत आठ जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु २२ हजार ४० र तास एक बुकसहित पक्राउ गरेको हो।

यसैबीच सिन्धुली, सुनकोशी गाउँपालिका–६ खाल्टे बस्ने ५० वर्षीय रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा चारजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद २२ हजार सात सय ६० रुपैयाँ, एक बुक तास र ३३ वटा कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

डडेल्धुरा, अमरगढी नगरपालिका–१ मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय ओमप्रकाश जोशीसमेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु २१ हजार तीन सय ७९ र तास दुई सय ५२ पत्तासहित पक्राउ गरेको हो।

दार्चुला, महाकाली नगरपालिका–५ गल्फै बस्ने ३२ वर्षीय केशवदत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टलगायत सातजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार तीन सय रुपैयाँ र तासको गड्डी छ थानसहित पक्राउ गरेको हो।

सङ्खुवासभा, चैनपुर नगरपालिका–३ तीनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५१ वर्षीय प्रेमबहादुर कटुवाल लगायत सात जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ३८ हजार तीन सय २५ र एक बुक ताससहित पक्राउ गरेको हो। यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसमेत गरिरहेको जनाइएको छ। रासस

प्रकाशित: Nov 14, 2023| 20:56 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्