मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

दमौली– तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा  प्रबद्र्धनमा जोड दिँदै आएको छ। केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो। 

National life

अनुसन्धान केन्द्रले खरी, बोयर, बारबारी, सिन्हान र सानन जातका बाख्रामा अनुसन्धान गर्दै आएको छ। अनुसन्धानले खरी र साननमा क्रस गरी उत्पादित वर्णशंकर जातका बाख्राले बढी उत्पादन र उत्पादकत्व दिएको अनुसन्धान केन्द्रका संयोजक राजु कंडेलले जानकारी दिए। 

सानन वर्णशंकर बाख्राले दूध र मासु उत्पादन वृद्धि भएको अध्ययन अनुसन्धानले देखाएको उनको भनाइ छ। शुद्ध सानन बाख्राले दैनिक चार लिटर दूध उत्पादन गर्ने र खरी वर्णशंकर बाख्राले दैनिक दुई लिटर दूध दिँदै आएको केन्द्रको भनाइ छ। 

अनुसन्धान केन्द्रले प्राथामिकताका आधारमा बाख्रा सम्बन्धी मार्गचित्र तयार गरी अनुसन्धान, प्राविधिक विकास र प्रबर्द्धन गर्दै आएको छ। रैथाने स्थानीय र लोपोन्मुख बाख्राका जातहरूको संरक्षण, सम्बद्र्धन र प्रयोग गर्दै आइएको केन्द्रका संयोजक कंडेलले बताए। 

त्यस्तै बाख्रा सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक प्राविधिक सहयोग गर्ने र उन्नत नश्लका बाख्राहरुको उत्पादन गरी देशभरका अगुवा किसानहरुलाई वितरण गर्दै आएको उनको भनाइ छ। उनले भने, ‘अनुसन्धान केन्द्रले व्यावसायिक बाख्रापालक अगुवा किसानहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न तालिम समेत सञ्चालन गरिरहेको छ।’

kumari

अनुसन्धान केन्द्रमा खरी जातका माउ तथा पाठा पाठी एक सय ७१, सिन्हान ३१, जमुना पारी माउ बाख्रा तीन, उन्नत जातको शुद्ध बोयर एक सय ९१, ९८ प्रतिशतको एक वटा बीउ बोका, बोयर ९३ प्रतिशतको ३८, ८६ प्रतिशतको ८३, ७५ प्रतिशतको ८९, ५० प्रतिशतको ८३, बारबारी शुद्ध २४, सानान शुद्ध २४ वटा बाख्रा रहेका छन्।

बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित भएका बीउ बोका ५० प्रतिशत वर्णशंकर बीउ बाख्राको जिउँदो तौल प्रति केजी रु आठ सय र ७५ प्रतिशत वर्णशंकर बीउ बाख्राको जिउँदो तौल प्रति केजी एक हजारमा किसानहरूलाई बिक्री गर्दै आएको छ। बीउ पाठापाठी किसानको माग अनुसार अनुसन्धान केन्द्रले उत्पादन गर्न नसकेको बताइएको छ। 

बाख्राको अनुसन्धानको लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ। केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको निलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन्। 

केन्द्रमा बाख्राहरुलाई चरिचरणको घाँसहरुमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ। त्यस्तै हिउँद तथा सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ। त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ।

कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राको लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ। बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ। 

देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन्। कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रमा मन्त्री, सांसद लगायत विभिन्न पार्टीका नेताहरूले समेत अवलोकन गर्ने गरेका छन्।

प्रकाशित: Nov 14, 2023| 10:02 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्