शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सांसद विकास कोषको रकम भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्चिने

सांसद विकास कोषको रकम भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्चिने

 |  सोमबार, कात्तिक २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

vianetvianet

काठमाडौं- सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ।

मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो। यसमा १ अर्ब ७५ करोड रुपैयाँ थपेर विपद व्यवस्थापनका लागि १० अर्ब उपलब्ध गराउने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले ८ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको थियो। यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले यो कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

भूकम्पपछिको पुनर्निर्माणमा प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएको भन्दै सरकारले विपद व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन व्यक्ति, संघसंस्था तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ।

मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण आवास पूर्ण र आंशिक क्षति भई बस्न योग्य नरहेको घर परिवारलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

यो रकम दुई किस्तामा दिइनेछ। विपद व्यवस्थापन कोषबाट स्थानीय तहमा पठाउने छ र परिवारको स्वघोषणा र वडाको सिफारिस लाभग्राहीको बैंंक खातामा पठाइनेछ।

अनुदान उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुनेछ। अस्थायी आवास निर्माणका लागि शहरी विकास मन्त्रालयले सम्बन्धित स्थानीय तहमार्फत प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

संघ र स्थानीय तहसँग समन्वय गरी आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउन र अस्थायी आवास निर्माण तथा प्राविधिक परिचालनको अनुगमन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ। आवश्यक समझदारी कायम गर्न तथा सहयोगका लागि स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा राजनीतिक दलहरुको सर्वदलीय संयन्त्र बनाइनेछ।

यस्तै भूकम्प प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायले खोज उद्दार र राहतका लागि उपलब्ध बजेटबाट इन्धन खर्च वापतको रकम अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने निर्णय पनि भएको छ।

मन्त्रिपरिषदको बैठकले भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिर्वतनको उच्च जोखिममा रहेकाले व्यक्तिगत आवास लगायत सबै भवन र संरचनाको बिमा गराउनेबारे अध्ययन गरी प्रतिवदेन बुझाउन मुख्य सचिवलाई निर्देशन दिएको छ।

प्रकाशित: Nov 13, 2023| 14:37 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्