काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने कोप-२८ को साइड इभेन्टमा कतारकी राजकुमारी शेखा अस्मा अल थानी सहभागी हुने भएकी छन्। साथसाथै संस्थाले आयोजना गर्ने साइड इभेन्टमा राजकुमारी थानीले सम्बोधन गर्ने संस्थाका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिएकी छन्।
उनका अनुसार साथसाथैले ४ डिसेम्बर २०२३ दिउँसो २ बजेदेखि ३:३० बजेसम्म 'क्लाइमेट चेन्ज एण्ड इट्स इम्प्याक्ट अन भल्नरेबल ग्रुप्स' (जलवायु परिवर्तन र जोखिममा रहेका समुदायमा यसको असर) शीर्षकको साइड इभेन्टमा कतारी राजकुमारी थानीले सम्बोधन गर्ने भएकी हुन्।
साथसाथैका अध्यक्ष कार्कीले भनिन्, 'नेपालका सगरमाथासहितका हिमाल आरोहण गर्नुभएको कतारी राजपरिवारको सदस्यले हाम्रो निमन्त्रणा स्वीकार गर्नुभएको छ। उहाँले नेपालमा पनि लामो समयदेखि जलवायु परिवर्तनको विषयलाई नजिकबाट नियाल्नुभएको र नेपालको समुदायबारे अध्ययन गर्नुभएकोले कोप-२८ को साइड इभेन्टमा उहाँले सम्बोधन गर्नु हाम्रा लागि खुसीको विषय हो।'
कोप-२८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली टोली सहभागी हुने भएको छ। सरकारले कोप-२८ मा नेपालका हिमाल पग्लिएको मुद्दालाई विशेषरुपमा उठाउने भएको छ। यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले पनि नेपालका हिमाल पग्लिएको मुद्दालाई गम्भीरताका साथ विश्व समुदायले बुझ्नुपर्ने बताएका थिए। यही सन्दर्भमा नेपालका छ वटा हिमाल आरोहण गरेकी कतारी राजकुमारीको उपस्थिति नेपालका हिमाल पग्लिएको र यसले पारेको असरको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन प्रभावकारी हुने अध्यक्ष कार्कीले बताएकी छन्।
नेपालमा जलवायु परिवर्तनले जोखिममा रहेका महिला, बालबालिका, असहाय, अशक्त, विपन्न तथा अल्पसंख्यक समुदायमा सबैभन्दा बढीरहेको उल्लेख गर्दै नेपालको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन कतारी राजकुमारीको सम्बोधन फलदायी हुने साथसाथैका अध्यक्ष कार्कीको विश्वास छ। अरब मुलुकमा रहेर महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने हिमाल आरोहण गरेकी राजकुमारी थानीले नेपालका ६ वटा हिमाल आरोहण गरेकी छन्।
२७ मे २०२२ मा सगरमाथाको सफल आरोहण गरेकी राजकुमारी अलथानीले २८ मे २०२२ मा ल्होत्सो आरोहण गरेकी थिइन् भने ९ मे २०२२ मा उनले कञ्जनजंघा हिमालको सफल आरोहण गरेकी थिइन्। ८ नोभेम्बर २०२१ मा आमादबलम हिमाल आरोण गर्ने पहिलो कतारी महिला बनिन्। २०२१ को सुरुमा धौलागिरी र मनास्लुको सफल आरोहण गरेकी थिइन्। उनी आमादबलम हिमालमा अक्सिजन बिना नै सफल आरोहण गर्ने पहिलो कतारी महिलासमेत हुन्।
साथसाथैले कोप-२८ को नेपाल पेभेलियनमा दुई वटा सइड इभेन्ट गर्ने भएको छ। 'जलवायु परिवर्तन र जोखिममा रहेका समुदायमा यसको असर' शीर्षकमा ४ डिसेम्बरमा र एड्रेसिङ लस एण्ड ड्यामेज : नेपालस् क्लाइमेट चेन्ज इम्प्याक्ट एण्ड कम्पनसेसन शीर्षकमा ८ डिसेम्बर २०२३ मा साइड इभेन्ट गर्ने भएको हो।