मंगलबार, वैशाख १५, २०८३

पर्यटकको रोजाइमा गोरखाको भीमसेन उद्यान

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

गोरखा- गोरखा एक ऐतिहासिक महत्व बोकेको जिल्ला भएकाले पनि यहाँको इतिहास बुझ्न र अध्ययन गर्न नचाहने प्रायः कमै हुन्छन्। गोरखा घुम्न आउने विदेशी पर्यटकमात्र होइन, आन्तरिक पर्यटकका लागि पनि ऐतिहासिक गोरखा दरबार, धार्मिक आस्थाको धरोहरका रूपमा रहेको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, मनकामना मन्दिर र गोरखा दरवार सङ्ग्राहलय पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएका छन्।

National life

गोरखा जिल्ला घुम्न आउनेहरू विशेष गरेर गोरखाको वीरताको नजिकबाट अध्ययन र अवलोकन गर्न रुचाउँछन्। यिनै पर्यटकीय गन्तव्यसँगै राष्ट्रिय विभूति भीमसेन थापाको जन्मथलोमा रहेको भीमसेन उद्यान नयाँ पर्यटकको रूपमा विकास हुँदै गएको छ।

गोरखा-४ फिनामस्थित भीमसेन थापाको जन्मथलो पिपलथोकमा रहेको भीमसेन उद्यान पछिल्लो समय गोरखा आउने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास भएको छ। विशेष गरेर शैक्षिक भ्रमणमा आउने अघिकांश पर्यटक राष्ट्रिय विभूति थापाको स्मृतिमा निर्माण गरिएकोे भीमसेन उद्यानको अध्ययन र अवलोकन गर्न पुग्ने गरेका छन्।

'जिल्लाभित्रका मात्र होइन, बाहिरी जिल्लाबाट दैनिकजसो भ्रमणमा आउने गरेका विद्यार्थीलगायतका अन्य आन्तरिक पर्यटक भीमसेन उद्यान हेर्न आउने गर्छन्', उद्यान रेखदेख गर्दैआएकी निर्मला शर्मा वाग्लेले भनिन्, 'यहाँ आएर सबै खुसी भएर फर्कने गरेका छन्।' केही दिनयता मात्रै करिब पाँच सय जनाले भीमसेन उद्यान आएर अवलोकन भ्रमण गरेको उनले बताइन्।

पाल्पा, पर्वत, बागलुङ, सङ्खुवासभा, झापा, तनँहुलगायत गोरखा घुम्न आएका अघिकांश आन्तरिक पर्यटक एकपटक उद्यान आउन थालेको उनको भनाइ छ। उद्यान हेर्न र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रवेश शुल्कवापत १० र विद्यार्थीका लागि पाँच टिकट काट्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिइन्।

kumari

उद्यानमा आएर भीमसेन थापाको पूर्णकदको सालिकमा तस्वीर खिचाउन पाउँदा विद्यार्थी खुसी हुने गरेको वाग्लेको भनाइ छ। भीमसेन पार्कबाट मनास्लु, हिमालचुली, गणेश हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रेलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। साथै गोरखाको ऐतिहासिक र पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक गढी, लिगलिगकोट दृश्यावलोकन गर्न सकिन्छ।

उद्यानबाट देखिने सुन्दर हिमश्रृङ्खला र मनोरम दृश्य यहाँ घुम्न आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र बनेको हो। माथिल्लो गोरखा दरबारसँगै रहेको प्रसिद्ध कालिका मन्दिर पुगेपछि करिब १० मिनेटमा पुग्न सकिने भएकाले सो उद्यान आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो।

उद्यान हेर्न र घुम्नका लागि दैनिकजसो फरक-फरक जिल्लाबाट पर्यटक आउने गरेको उनको भनाइ छ। 'कुहिरो र तुवालो नलागेको दिन हुनुपर्छ यहाँ आएर दृश्यावलोकन गर्न पाएपछि फर्किएर जानै मन नलाग्ने हुँदोरहेछ, पार्कमा भेटिएका तनहुँका रोशन पाण्डेले भने, 'भीमसेन उद्यान ऐतिहासिक दृष्टिकोणले मात्र होइन, मनोरम दृश्यले पनि साँच्चै मनमोहक रहेछ।'

विसं १८३२ मा पिपलथोकमा जन्मनुभएका थापाले विसं १८६३ देखि १८९२ सम्म नेपालको मुख्तियार (प्रधानमन्त्री सरह)का रूपमा जिम्मेवारी सम्हाले। थापाको विसं १८९६ मा मृत्यु भएको थियो।

प्रकाशित: Nov 12, 2023| 18:35 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्