मंगलबार, वैशाख १५, २०८३

राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

जाजरकोट- जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन।

National life

भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन्। त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ। भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ। त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताए।

बारेकोट गाउँपालिका–१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन। स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखा परेको बताए। उनले भने, “गाउँपालिकासँग जति पटक माग्दा पनि राहत पाइएको छैन, भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो तर अहिलेसम्म त्रिपाल पनि पुगेको छैन।”

बारेकोट चिसो ठाउँ हो। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको बताए। उनका अनुसार बारेकोटमा अझै एक हजार सात सय थान त्रिपाल अपुग छ।

नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन। नगरपालिकाको वडा नं १ देखि ७ सम्म राहत वितरण गरिए पनि वडा नं ८ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन्। नलगाड वडा नं ८ बारेकोट गाउँपालिकाको वडा नं ८ सँग जोडिएको पालिका हो भने वडा नं ९ बारेकोटको धुमालगायतका क्षेत्रसँग जोडिएको क्षत्र हो।

kumari

नलगाड वडा नं ८ पालिकामा सबैभन्दा धेर जनसङ्ख्या भएको क्षेत्र हो। त्यहाँ केही संस्थाले आफूखुसी राहत सामग्री वितरण गर्दा सबैले नपाएको स्थानीय भीमबहादुर खत्रीले बताउनुभयो। प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरी निर्णय गर्दा आफूहरु पीडित भएको उनको भनाइ छ।

भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ। बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन्।

आज विहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ। अधिकांश घरबाट छाएको ढुङ्गा झरेका छन्। भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ। कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएका पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले बताए।

सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्नेलाई कसैले पनि राहत पाएका छैनन्। राहत माग्न जाँदा घर मालिकको मात्रै नाम भेटिने गरेको र आफूहरुलाई सूचीमा नाम नै नभएको बारेकोट गाउँपालिका–४ घर भई सदरमुकाममा बस्दै आउनुभएका मालबहादुर सिंहले गुनासो गरे। नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य प्रभात चलाउनेले पालिकामा धेरै राहत आएको भनिए पनि अझै ४० प्रतिशतले राहत नपाएको बताए।

प्रकाशित: Nov 11, 2023| 19:02 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्