काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन शाहले तिहारको समयमा राति १ बजेसम्म देउसीभैलो खेल्नका लागि महानगरले सुरक्षा पेट्रोलिङको व्यवस्था मिलाएको बताएका छन्। उनले सुरक्षाका लागि नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई प्रबन्ध मिलाउन भनेका छन्।
विभिन्न जिल्लासहित उपत्यकामा पनि राति ९/१० बजेसम्म मात्रै देउसीभैलो खेल्न दिइने गरेकोमा प्रमुख बालेनले राति १ बजेसम्म खेल्न दिनुपर्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'विगतका वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो। यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङ व्यवस्था मिलाएका छौँ।'
'सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ, सोहीअनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ।'