काठमाडौं– एसएलसी प्रमाणपत्र र नागरिकतामा छुट्टाछुट्टै जन्ममिति देखिएपछि विवादमा तानिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्।उपरथी पाण्डे हालका प्रधानसेनापति प्रभुराम शर्माको २४ भदौ २०८१ मा कार्यकाल सकिएलगत्तै प्रधानसेनापतिको रोलक्रममा थिए।
उपरथी पाण्डेले नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन सुरु भएको थियो। रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेर विवादलाई लिएर संगठनभित्रै विरोधका स्वर बाहिरिएका थिए।
उपरथी पाण्डेको एसएलसी प्रमाणपत्रमा जन्ममिति १२ माघ २०२१ र नागरिकता बनाउँदा जन्ममिति २३ मंसिर २०२३ कायम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंको विवरणमा उल्लेख छ।
पाण्डेको जन्ममिति २३ मंसिर २०२३ कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ को सक्कली ढड्डामा उल्लेख छ। उनको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ३ वैशाख २०४३ मा जारी भएको छ।