छिमेकी मुलुक भारतले जाजरकोट भूकम्पपीडितका लागि थप राहत सामग्री पठाएको छ। राहत सामग्रीको तेस्रो खेप लिएर भारतीय वायुसेनाको विमान बिहीबार साँझ नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो।
तेस्रो खेपको राहत सामग्री भारतीय राजदूतावासका प्रतिनिधिले नेपाली पक्षलाई हस्तान्तरण गरेका छन्। आज पठाइएको राहत सामग्रीमा ब्ल्यांकेट, स्लिपिङ ब्याग, टेन्ट र औषधि छन्।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै तेस्रो खेपमा थप १२ टन राहत सामग्री नेपाल पठाइएको जानकारी दिएका छन्।
उनले भारत सधैं नेपालको भरपर्दो साझेदार रहिरहने उल्लेख गरेका छन्। भूकम्पपीडितलाई सहयोगका लागि बाह्य मुलुकमध्ये सबैभन्दा पहिला सक्रियता देखाएको भारतले यसअघि दुई पटक ठूलो मात्रामा राहत सामग्री पठाएको थियो। ती सामग्री भूकम्प प्रभावित क्षेत्रमा वितरण भइसकेको छ।