काठमाडौं- माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघका सह–अध्यक्ष जनक वर्तौलामाथि खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गर्ने फरार रहेका छन्। उनी हिँड्दै बुद्धनगरतर्फ गएको प्रहरी अनुसन्धानले जनाएको छ।
बुधबार साँझ काठमाडौंको पुरानो बानेश्वरतर्फ हिँडिरहेका बर्तौलाको पछाडिबाट टाउकोमा खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट घाइते भएका वर्तौलाको हाल नर्भिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आरोपीको खोजी तीब्र पारेको छ।
अनुसन्धानमा खटिएका प्रहरीले घटनास्थलदेखि आरोपी भागेको रुट पत्ता लगाएको छ। मंगोलियन अनुहार भएका ती आरोपीले खुकुरी प्रहारपछि हुलिया परिवर्तन गरेर भागेको खुलेको छ। बानेश्वरमा खुकुरी प्रहारपछि उनी थापागाँउ हुँदै करिडोरको बाटो बुद्धनगर पुगेको देखिएको छ।
कालो ट्राउजर, खैरो हुडी र कालो मास्क लगाएर आक्रमण गरेका उनी निलो ज्याकेट लगाएर फर्किएको देखिएको छ।
थापागाउँमा आक्रमण गर्न लिएको दुई वटा खुकुरी, झोला र जुक्तासमेत छोडेर उनी हिँड्दै भागेका थिए। आठ नम्बरको जुत्ता उनले छोडेर हिँडेको देखिएको छ। खुकुरीसहित, हुडी र जुत्ता प्रहरीले बरामद गरेको छ।
बिहीबार घटनाको अनुसन्धान गर्न प्रहरीले कुकुर समेत प्रयोग गरेको छ। कुकुरले आरोपी बुद्धनगर पुगेको संकेत दिएको छ। बुद्धनगर क्षेत्रमा प्रहरीले सर्च जारी राखेको छ। सीसीटीभीमा देखिएका युवालाई सुपारी दिएर आक्रमण गर्न लगाएको आशंका प्रहरीको छ।