क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्ममा बहस नोट माग्न आदेश गरेका हुन्। मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ। बहस छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन्।
सर्वोच्च अदालतले गत फागुनमा नै यो मुद्दाको फैसला चाँडो गर्न आदेश दिए पनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन। २०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक-पटक सर्दै आइरहेको छ।
यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए। पछि क्यानका पदाधिकारीको आग्रहमा उनी नेपाली टोलीमा फर्किएका छन्। काठमाडौं जिल्ला अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो।
पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो।