शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जनार्दन शर्माले पत्रकार सम्मेलन गरेर भने- कान्तिपुरको ज्यादती अचाक्ली भयो

जनार्दन शर्माले पत्रकार सम्मेलन गरेर भने- कान्तिपुरको ज्यादती अचाक्ली भयो

 |  बिहीबार, कात्तिक २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

vianetvianet

पूर्व अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जिल्लाहरूमा आवश्यकताअनुसार राहत वितरणको कार्य भइरहेको र राहत वितरणमा कुनै राजनीतिकरण नभएको दाबी गरेका छन्।

आज रुकुम पश्चिममा पत्रकार सम्मेलन गर्दै शर्माले राजनीतिक रूपमा कुनै पनि ठाउँमा राहत वितरण नभएको प्रस्ट पारे। शर्माले प्रभावित क्षेत्रमा व्यवस्थित रूपले राहत वितरण भइरहेको दोहोर्‍याए। ‘सबैको एकता, सहकार्य अनुसार विपत्तिलाई सामना गर्ने हो। बाहिरबाट अनावश्यक रूपमा हमला गरी समाचारहरू प्रकाशन गरेर यहाँको बदनाम गर्न खोजियो,’ उनले भने।

शर्माले अहिलेसम्म राहत बोकेको कुन गाडी कहाँबाट आयो, त्यो कुरा आफूलाई थाहा नभएको बताए। ‘कुन गाडी कहाँबाट आयो त्यो मलाई थाहा पनि छैन। संघसंस्थाहरुले फोन गर्दा कहाँको लागि हो भनेर सोधेको हुन्छु, उहाँहरूले रुकुमकै लागि हो भनेपछि मात्र मात्र आउनुहोस् भनेको छु। सरकारबाट आएको राहत जिल्लाहरूमा बाँडफाँट गरेर नै वितरण भइरहेको छ,’ उनले भने।

शर्माले आफूमाथि ब्ल्याकमेलिङ भइरहेको गुनासो गर्दै भने, ‘म अर्थमन्त्री हुँदा कैलाश सिरोहिया आएर हात मिलाउँछु है भन्नुभयो र अर्को दिन मलाई स्ट्रेन्थ चाहियो भन्नुभयो। मैले त्यो कुरा अर्थमन्त्रीले दिन मिल्दैन प्रक्रियामा आउनुहोस् भन्दा मेरो विरुद्धमा समाचारहरू आउन थालेका हुन्।’  

भ्रमपूर्ण समाचारहरू नलेख्न पनि शर्माले चेतावनी दिए। ‘म माथि एउटा मिडियाको ज्यादती अचाक्ली भयो। जाजरकोटको जनता पनि मेरो हो, यहाँको पनि मेरो हो। उता शक्ति बस्नेत यता मैले गर्ने भनेर हामी लागिरहेका छौं। कोअर्डिनेशन भइरहेको छ। मैले गाडी कब्जा गर्ने कुरा कल्पना बाहिरको कुरा हो,’ उनले भने।

शर्माले जिल्लामा सोलार आवश्यक नै नरहेको बरु खाद्यान्न लगायतका सामग्रीको अभाव रहेको बताए। उनले भने, ‘अपहरण गरेर यहाँ ल्याएर सोलार बाँड्नुपर्ने कुरा नै छैन, हुँदै नभएको कुरा हो। भूकम्पले ध्वस्त भएका घरहरू, चर्केका घरहरू छन्। १८ हजार परिवारको व्यवस्थापन गर्ने चुनौती हामीसँग छ। प्रदेश सरकारलाई जस्तापाता किन्नका लागि आग्रह गरिएको छ। अस्थायी व्यवस्थापनका लागि, पुनर्निर्माणको सन्दर्भमा कस्तो खालको घर निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको छ। राहत लगत्तै अस्थायी व्यवस्थापन हाम्रो प्राथमिकता हो।’

राहत एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको उनले दाबी गरे। 'आएको राहत स्टोरमा राखेको भनिएको छ तर, त्यो हुँदैन। यहाँ आउने बित्तिकै पालिका हुँदै वडामा पुर्याउने भइहाल्छ,' उनले भने।
कान्तिपुरले बिहीबार भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति शीर्षकमा समाचार प्रकाशित गरेपछि शर्माले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन्। सरकार र सार्वजनिक संघसंस्थाबाट जाजरकोटका लागि पठाइएका राहत सामग्रीका ट्रक शर्माको निर्देशनमा सल्लीबजारबाट मोडेर रुकुम पश्चिम पुर्‍याइएको समाचार कान्तिपुरले छापेको थियो।

प्रकाशित: Nov 09, 2023| 15:27 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्