शुक्रबार, असार ६, २०८२

ठमेलमा युवती बोलाएर प्रहरीले नै गरे लुटपाट!

 |  बुधबार, कात्तिक २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

vianetvianet

काठमाडौं- काठमाडौंमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहितको टोलीले युवती बोलाएर लुटपाट गरेको घटना सार्वजनिक भएको छ। नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहितको संलग्नतामा डाँका चोरी भएको मुद्दा अदालत पुगिसकेपछि सार्वजनिक भएको हो। 

गत असोज २१ गते राति सीआरभी ड्युटीमा खटिएका असई सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बरालले युवती बोलाएर डाँका चोरी गरेको आरोपमा अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 

उक्त मुद्दामा बुधबार जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस भएको हो। मंगलबार सबै प्रतिवादीको बकपत्र सकिएको प्रहरीले जनाएको छ। लुटपाटमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ इटहरीका २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी संलग्‍न भएको आरोप छ। 

यससँगै सहायक हवल्दार कास्कीको अन्नपूर्ण गाउँपालिका १ अधिकारी डाँडाका ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान कास्कीको पोखरा महानगरपालिका २७ का २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक धादिङको गंगाजमुना गाउँपालिका ३ का ४३ वर्षीय सुनबहादुर तामाङको संलग्‍नता रहेको जनाइएको छ। 

उनीहरुले आफूलाई कुटपिट गर्दै ४७ हजार ५ सय रुपैयाँ लुटपाट गरेको भन्दै कुमार रोकाले जाहेरी दिएका थिए। जाहेरीपछि तीन जना प्रहरीलाई असोज २३ गते र दुई जनालाई २४ गते पक्राउ गरेको थियो।

के थियो घटना? 

असोज २१ गते बिहान १० बजेदेखि असोज २२ गते बिहान १० बजेसम्म शिक्षण अस्पताल, शीतलनिवास, पानीपोखरी र सांग्रिला होटलसम्मको एरिया रेखदेखका लागि असई सुनबहादुर तामाङको कमान्डमा टोली खटिएको थियो। उनीहरु सबै महाराजगञ्ज वृत्तमा कार्यरत हुन्। 

राति साढे १० बजे काठमाडौं महानगरपालिका ३ महाराजगञ्जस्थित शिक्षण अस्पतालअगाडि बा १ झ ६२३८ नम्बरको सीआरभी गाडी रोकेर प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ र प्रहरी जवान भुवन बराल खुला रहेको पसल बन्द गर्न भन्दै गए। गाडी चालक सहायक हवल्दार खगराज अधिकारी गाडीमै बसे। 

उनले चाबहिल बस्ने मदन पुरी र कपन बस्ने सन्तोष पुरीलाई बोलाए। मदन र सन्तोष काका–बडाबाउका छोरा (दाजु भाइ) हुन्। मदनले सन्तोषलाई जरुरी काम पर्‍यो भन्दै बोलाएका थिए। वसन्तपुरमा रहेका सन्तोष पठाओ मोटरसाइकलमा चढेर महाराजगन्ज पुगे।   

त्यसपछि खगराजको मोबाइलबाट फोन गरेर नवराज नगरकोटीलाई तीन जना युवती लिएर आउन भने। नगरकोटी पहिलेदेखि नै उनीहरुसँग सम्पर्कमा रहेका व्यक्ति थिए।  महाराजगञ्जस्थित ओमान रेस्टुरेन्टमा ३ जना युवती ल्याउन उनीहरुले भनेका थिए। नवराजले कुमार रोकाको बा ५ च ५०३९ नम्बरको गाडीमा ठमेलबाट ३ जना युवती पठाइदिए। 

जाहेरवाला कुमार रोकाले भने आफूले युवतीहरुलाई ठमेलबाट लिफ्ट दिएर लगिदिएको बताएका छन्। तर अभियुक्तहरुले भने उनलाई पहिल्यै फोन गरेर ३ जना युवती ल्याउन भनेको बयान दिएका छन्। नवराजले भनेपछि उनले कुमारको गाडीमा तीन जना युवती पठाइदिएका थिए। 

पानीपोखरीस्थित सडकमा उनीहरुको भेट भयो। जाहेरवाला रोकाले भने आफूलाई रोकेर गाडीमा केटीहरु लिएर कहाँ बिक्री गर्न लगेको भनी धम्क्याएको, कुटपिट गरेको समेत उल्लेख गरेका छन्। 

कुमारले चलाएको गाडीसहित प्रहरी जवान भुवन बरालले उनीहरुलाई शिक्षण अस्पतालतिर लगे। त्यो गाडीमा रहेका तीन जना युवतीलाई प्रहरीको गाडीमा चढाए। त्यसपछि निर्मल निवासको गल्लीमा लगेको र डेढ लाख रुपैयाँ मागेको पीडितको भनाइ छ। 

त्यहाँ पुगेपछि उनीहरुले रकम माग गरेर धम्क्याएपछि कुमार रोकाले सन्तोष पुरीको ई–सेवा खातामा ३० हजार रुपैयाँ जम्मा गरिदिएका थिए। त्यसपछि उनीहरुले नवराज नगरकोटी, कुमार रोका र तीन जना युवतीलाई छाडिदिएका थिए। 

प्रकाशित: Nov 08, 2023| 18:23 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्