काठमाडौं- जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि जाजरकोट र रुकुपश्चिममा भीभीआईपी र भीआईभी सवारी बढेको छ। हेलिकोप्टरमार्फत भीभीआईपी र भीआईपी सवारीको चाप बढेपछि उद्धार तथा राहतको काम प्रभावित भएको भन्दै जनगुनासो बढेको छ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा सांसद्हरुको लर्को जाजरकोटमा बढेको छ। उक्त सवारीबाट आजित भएका भेरी नगरपालिकाका मेयर सीपी घर्ती मगरले हेलिकोप्टर आतंक बन्द गर्न भन्दै आक्रोश व्यक्त गरेका छन्।
मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मै भूकम्पपीडितलाई मल्हम लगाउने भन्दै काठमाडौंबाट धाइरहेका छन्। उता कर्णाली प्रदेशका मन्त्रीहरूसमेत हेलिकोप्टर चढेर जाजरकोटमा ओर्लिने क्रम जारी छ।
मेयर घर्तीले अनुगमनका लागि भन्दै भूकम्पपीडितको घरदैलोमा पुगेका शीर्ष नेताप्रति आक्रोश पोख्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, 'विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर। संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज।'
अनुगमनको बहानामा आएका शीर्ष नेताहरूले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिचेको गुनासो पनि उनले गरेका छन्। मंगलबार नै मेयर घर्तीले जाजरकोटमा त्रिपाल आवश्यक रहेको भन्दै उपलब्ध गराइदिन अपिल गरेका थिए।