सोमबार, वैशाख २९, २०८२

गणतन्त्रवादी नेताहरुको सिंहदरबार भेलामा व्यवस्था उल्टिने चिन्ता

नेताहरुले प्रणाली बदले पनि प्रवृत्ति नबदलेका कारण आमजनतामा निराशा बढ्दै गएको छ। यही बढ्दो निराशालाई अस्त्र बनाएर केही समूहहरुले प्रणाली र व्यवस्था नै गलत भएको भन्दै दोषारोपण गरिरहेका छन्।
 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

काठमाडौं- पछिल्लो समय अहिलेको व्यवस्थाले मुलुकलाई आर्थिक र स्वाधिनताको हिसाबमा कमोर बनाएको भन्दै असन्तुष्टिका स्वरहरु बढ्न थालेका छन्। केहीले राजतन्त्र फर्काउने घोषणा गर्दै विभिन्‍न अभियानहरु सञ्‍चालन गरिरहेका छन्। संघीय संसद्‌मा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरुले नै 'राजतन्त्र ठिक' भएको वकालत गरिरहेका छन्। 

triton college

नेताहरुले प्रणाली बदले पनि प्रवृत्ति नबदलेका कारण आमजनतामा निराशा बढ्दै गएको छ। यही बढ्दो निराशालाई अस्त्र बनाएर केही समूहहरुले प्रणाली र व्यवस्था नै गलत भएको भन्दै दोषारोपण गरिरहेका छन्। यही समयमा गणतन्त्र ल्याउन मुख्य भूमिका खेलका दलका नेताहरु मंगलबार सिंहदरबारमा भेला भए। 

उक्त भेलामा व्यवस्थामाथि खतरा भएको विषयमा छलफल भएको छ। भेलामा सहभागी दलका नेताहरुले गणतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै आवश्यक परे मुखरित हुने समेत बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले केही समूहले गणतन्त्रलाई बदनाम गरेर समाजमा अराजकता सिर्जना गर्ने काम भइरहेको बताए।  उनले भने, 'विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको छ। जसलाई जे मन लाग्छ, त्यही भन्न थाले। संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएका हौं। ठूलो फोर्स त होइन, तर समाज बिगारिरहेका छन्। जरुरी पर्‍यो भने मुखरित भएर जानुपर्छ कि?'

सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थामाथि खतरा उत्पन्‍न भएको हो? भन्दै प्रचण्डलाई प्रश्‍न गरेका थिए। सभापति देउवा र अध्यक्ष ओलीले व्यवस्थाविरुद्ध खतरा उत्पन्‍न भएको हो भने त्यस्ता गतिविधिमा सरकारले नियमन र नियन्त्रण किन नगरेको भन्दै प्रश्‍न गरेका थिए। उनीहरुले गणतन्त्रविरुद्ध हुने गतिविधिमा सरकारले नियमन र नियन्त्रण गर्नुपर्ने र त्यसमा आफूहरुको साथ रहने प्रतिबद्धता व्यक्त गरे। 

National life insurance

पछिल्लो समय राजतन्त्रको विषयमा अभियानहरु सञ्‍चालन भइरहेको विषयमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनता कुनै व्यक्तिको शासनमा बस्न तयार नभएकोले यो निकै घातक हुने बताए।
देउवा, एमाले ओलीलगायत नेताहरुले सरकारले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए।

गणतन्त्रविरोधी तत्वलाई परास्त गर्ने विषयमा ऐक्यबद्धता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतले 'गणतन्त्र विरोधी शक्तिसँग मैदानमा अन्तिमसम्म लड्न तयार' भएको प्रतिबद्धता व्यक्त गरेका छन्। 

नेताहरुले प्रणाली बदले पनि प्रवृत्ति नबदलेका कारण आमजनतामा निराशा बढ्दै गएको छ। यही बढ्दो निराशालाई अस्त्र बनाएर केही समूहहरुले प्रणाली र व्यवस्था नै गलत भएको भन्दै दोषारोपण गरिरहेका छन्।

सरकारले जनचाहना अनुसार काम गर्न नसक्दा जनता निराश भएको र उनीहरुलाई भड्काउने, कपोलकल्पित मिथ्या प्रक्रियाहरु चलिरहेकोले सरकार गम्भीर हुनुपर्ने समेत सहभागी नेताहरुले बताएका छन्। एमाले सचेतक महेश बर्तौलाले भने, 'संविधान, व्यवस्थाप्रति जनस्तरमा भ्रामक टिप्पणी गराउने, गर्ने खेती भइरहेको छ र सामाजिक सञ्जाललाई जसरी दुरुपयोग गर्न खोजिएको छ, यसको बारेमा पनि छलफल भयो।'

बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल भन्छन्, 'असन्तुष्ट जनतालाई उक्साएर अराजकता फैलाउने र व्यवस्था नै उल्ट्याउने हुन् कि भन्ने चिन्ता नेताहरुमा देखिन्छ। यसलाई कसरी परास्त गर्न सकिन्छ भन्‍ने विषयमा नेताहरुबीच छलफल भएको छ।' 

बैठकपछि प्रधानमन्त्री प्रचण्डले भने, 'सन्त्रासको कुरा होइन र हामी तर्सिएको पनि होइन। १२ बुँदे समझदारी पक्षधर बसेर समीक्षा सुरु गरेका हौं। अब समय आएको छ सामान्य समीक्षा गरौं भनेर गरिएको हो।'

प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा भएको क्षति तथा उद्धार र राहतमा सरकारले गरिरहेको कामबारे पनि भेलामा जानकारी गराएका थिए।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति देउवा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरू सहभागी थिए।

त्यस्तै माओवादी केन्द्रबाट पम्फा भुसाल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल सहभागी थिए। लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री तथा नेता शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए भने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरू बैठकमा सहभागी थिए।

प्रकाशित: Nov 07, 2023| 18:44 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्