सोमबार, असार २९, २०८३

भूकम्पपीडितलाई सहयोग जुट्दै

जाजरकोट भूकम्पबाट पीडित भएकालाई स्थानीय सरकार र संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी।
 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं– जाजरकोट भूकम्पपीडितका लागि विभिन्न स्थानीय तह र संघसंस्थाले सहयोग घोषणा गर्ने क्रम जारी छ। काठमाडौँ महानगरले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्पबाट प्रभावितका लागि खाद्यन्नलगायतका सामग्री पठाउने तयारी गरेको छ।

भूकम्प प्रभावित क्षेत्रमा प्रतिपरिवार १० किलो चामल, दुई किलो चिउरा, एक किलो दाल, एक किलो नुन र एक लिटर खानेतेल पठाउने तयारी भइरहेको महानगरका प्रहरी प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

त्यसैगरी पाल्पाको रामपुर नगरपालिकाले १ लाख ५१ हजार १ सय ११ सहित राहत सामग्री पठाउने भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पश्चिम नवलपरासीका दुईपालिकाले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन्।

बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको जनाएको छ। जसमा बर्दघाट नगरपालिकाले २ लाख र प्रतापपुर गाउँपालिकाले २ लाख २५ हजार घोषणा गरेका हुन्। मध्यपश्चिम विश्वविद्यालयले भूकम्पपीडितलाई १२ लाख बराबरको राहत सहयोग गरेको छ।

जुम्लाका तीन स्थानीय तहले पनि १६ लाख सहयोग गर्ने जनाएका छन्। तातोपानी गाउँपालिकाले राहतका लागि १० लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

पातारासी गाउँपालिकाले ५ लाख, सिंजा गाउँपालिकाले १ लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष जम्मा गर्ने भएका हुन्। काठमाडौँमा सञ्चालित आइएसएमटी कलेजले पनि भूकम्पपीडितका लागि उक्त कोषमा ५ लाख सहयोग गर्ने घोषणा गरेको छ।

प्रकाशित: Nov 07, 2023| 15:06 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्