काठमाडौं– नक्कली कागजपत्र बनाउने गिरोहमा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवलाल तामाङ पक्राउ परेका छन्। विदेश जानेहरूका लागि नक्कली कागजपत्र बनाउने गिरोहमा संलग्न भएको देखिएपछि तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनले भिजिट भिसामा विदेश जानेहरूको नक्कली कागजपत्र बनाउन सघाउँदै आएको बताइन्छ। यसमा विमानस्थलका कार्यरत वरिष्ठ अधिकृतको पनि मिलेमतो हुन सक्ने आशंकामा प्रहरीले छानबिन अगाडि बढाएको छ।
प्रहरीले नक्कली कागजात बनाउने गिरोहमा संलग्न उनीसहित नवलपुरको मध्यबिन्दु नगरपालिका–५ का जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्तबहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरका आशीष श्रेष्ठ, काठमाडौंका साइरस बिसंखे, दीपक केसी र सल्यानका बलबहादुर रावतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए।