काठमाडौं– गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। १६ कात्तिकदेखि बेपत्ता भएकी किशोरी चन्द्रकोट–५ घर नजिकैको हुँग्दी खोलामा नग्न र डुबेको अवस्थामा मृत फेला परेकी हुन्।
खोलामा शव फेला परेपछि स्थानीयले बलात्कारपछि मारिएको आशंका गर्दै प्रहरीलाई हत्यारा पत्ता लगाउन माग गरेका छन्। मुख्य बजार र इलाका प्रहरी कार्यालय नजिक किशोरीको बलात्कारपछि हत्या भएको घटनाले स्थानीयमा ठूलो त्रास रहेको तेजेन्द्र थापाले बताए।
मृतक किशोरी शान्तिपुरको श्रीलंकाटोलमा आमासँग भाडाको घरमा बस्दै आएकी थिइन्। बालिका १६ कात्तिकबाट परिवारको सम्पर्कमा थिइनन्। आमासँगै खेतमा काम गर्न गएकी उनी १६ कात्तिक बिहान ११ बजे खेतालालाई सुर्ती किन्न भनी बजार गएपछि बेपत्ता भएकी थिइन्।
१७ कात्तिक बिहानै खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बताए। घटनामा संलग्नताको आशंकामा बाँकेको खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँ पक्राउ परेको उनको भनाइ छ।